दक्षिण कोरियाले आफैंले निर्माण गरिरहेको रकेट यहि बर्षको अक्टोबर महिनामा प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। यसको निर्माण कार्यमा खटिएका अनुसन्धानकर्ताहरुले महत्वपूर्ण पहिलो इन्जिनको जाँच सफलतापूर्बक सम्पन्न गरेपछि अक्टोबरमा लन्च गरिने लगभग पक्का भएको कोरियाको विज्ञान मन्त्रालयले जनाएको छ।
कोरियाको बिज्ञान तथा आइसिटी मन्त्रालयका अनुसार कोरिया रिसर्च तथा एरोस्पेश इन्स्टिच्युटले रकेटको तश्रो तथा अन्तिम इन्जिनको जाँच सफलतापूर्बक सम्पन्न गरेको बताएको छ। यस रकेटमा ७५ टन लिक्विड इन्जिन ४ वटा हुने बताइएको छ। रकेटको नाम ‘Nuri’ राखिएको छ भने यसको कुल तौल २०० टन रहेको छ। सउलबाट ४७३ किलोमिटर दक्षिणमा रहेको गुछन क्षेत्रको नारो स्पेश सेन्टरमा यो रकेट बनिरहेको छ।
जुलाई सम्ममा स्थानिय अनुसन्धानकर्ताहरुले यस रकेटको टेस्ट गरिसक्नेछन्। अक्टोबरमा हुने टेस्ट लन्च अघि नै रकेटको फ्लाइट मोडेलको एसेम्ब्ली भइसक्नेछ। यहि रकेट ‘नुरी’ को दोश्रो टेस्ट प्रक्षेपण अर्को बर्षको मे महिनामा गरिने तय गरिएको छ। कोरियाले सन २०१० देखि नै आफैले रकेट बनाउन सुरु गरेको हो। त्यस समयदेखि नै कोरियाले रकेट विकासका लागि १.८ बिलियन अमेरिकन डलर खर्च गरिसकेको छ। कोरियाले सन २०१३ मा २ स्टेज नारो रकेट प्रक्षेपण गरेको थियो जसको पहिलो स्टेज रसियामा बनेको थियो।
नुरी रकेटको निर्माणमा विभिन्न व्यवधानहरु आएका थिए। पहिलो स्टेजको एसेम्ब्ली प्रकृयामा आएको परिवर्तन तथा पार्टपुर्जा आयातमा ढिलाईले गर्दा फेब्रुअरीमा प्रक्षेपण गरिने तयारी गरिए पनि ढिलाई भइ अक्टोबरमा पुगेको हो। रकेट बनिरहेको रिसर्च स्थल भ्रमणका क्रममा कोरियाका राष्ट्रपति मुन जे इन ले रकेटको कामले आफू उत्साहित भएको बताएका छन्। अक्टोबरमा नुरी रकेट प्रक्षेपण गरिसकेपछि कोरियाले सन २०३० भित्रमा आफ्नै रकेट चन्द्रमामा पुर्याउने लक्ष्य राखेको छ।
प्रतिकृया दिनुहोस्