Saturday, September 25

के हो डि-म्याट खाता? कसरी खोल्ने?

January 13, 2021 1304

पछिल्लो समय नेपालको सेयरबजार तातिएको छ। अहिले गाउँ शहरका चिया पसलमा सेयरबजारका कुराहरु चल्न थालेका छन्। ब्रोकर कार्यालय तथा बैंक तथा वित्तिय संस्थाहरुमा डि-म्याट खाता खोल्नेको भिड देखिन्छ। अहिले सेयरबजारमा मानिसहरुको आकर्षण बढेसँगै दैनिक डि-म्याट खाता खोल्नेहरुको संख्याले रेकर्ड बनाउन थालेको छ।

गत सोमबार
एकैदिन करिब २३ हजार बढिले खाता खोलेको तथ्याङ्क सार्वजनिक भएसँगै नेपालीहरुको सेयरबजारमा आकर्षण उत्सर्गमा पुगेको अनुमान सजिलै लगाउन सकिन्छ। आखिर के हो त डि-म्याट खाता? कसरी खोल्न सकिन्छ यस्तो खाता? कहाँ गएर खोल्ने? आज यसैबारेमा चर्चा गर्नेछौं।

के हो डि-म्याट खाता?

अङ्ग्रेजी शब्द Dematerialized को छोटो रुप Demat हो। यो पनि बैंक खाता जस्तै हो तर यस खातामा पैसा नभएर हाम्रो सेयर जम्मा हुन्छ। यसै खाताबाट सेयरको कारोबार हुन्छ। डि-म्याट खातालाई हितग्राही खाता पनि भन्ने गरिन्छ। हितग्राहीले धितोपत्र निक्षेप गर्नका लागि धितोपत्र बोर्डबाट निक्षेप सदस्यता सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर खोलिने खाता नै डि-म्याट खाता हो। आवश्यक कागजपत्र पुर्याइ खाता खोलेपछि १६ अंकको डि-म्याट खाता नम्मर पाईन्छ।

नेपालमा अहिले धितोपत्र दलाल जसलाई ब्रोकर पनि भन्ने गरिन्छ, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधी लगायतले धितोपत्र बोर्डबाट अनुमति लिइ यस्तो सेवा दिईरहेका छन्।

डि-म्याट खाता कहाँबाट खोल्ने?

निक्षेप सदस्यको काम गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तिय संस्था, धितोपत्र दलाल, मर्चेण्ट बैंकहरुमा गई डि-म्याट खाता खोल्न सकिन्छ। बैंक खाता खोले जस्तै आवश्यक कागजात लिई फाराम भरेपछि निक्षेप सदस्यले हाम्रो सम्पूर्ण विवरणहरु सिडिएस लिमिटेडको प्रणालीमा प्रविष्ट गरिसकेपछि खाता खुल्छ। खाता खुलेपछि १६ अङ्कको खाता नम्मर प्राप्त हुन्छ। अव हामीले सेयर किन्दा यहि खातामा जम्मा हुन्छ भने बेच्दा यहि खाताबाट घटेर जाने गर्दछ।

डि-म्याट खाता खोल्न के के चाहिन्छ?

यो खाता खोल्न पहिले नै कुनै कम्पनीको सेयर हुन पर्दैन। सेयर भएका नभएका जो कसैले पनि यस्तो खाता खोल्न सक्दछन्। एक जनाको खाता अर्को ब्यक्तिलाई काम लाग्दैन। परिवारको एक जनाले खाता खोल्दैमा अरु परिवारका सदश्यलाई काम लाग्दैन। सबैको आ आफ्नै खाता चाहिन्छ।

यस्तो खाता खोल्न ३ पुस्ते विवरणका साथै नागरिकता र २ प्रति फोटो आवश्यक पर्दछ भने नावालकको डि म्याट खोल्नका लागि जन्मदर्ताको प्रमाणपत्र, संरक्षको नागरिकताका साथ फोटो चाहिन्छ। डि म्याट खाता सन्चालन शुल्क हरेक बर्ष रु १०० लाग्दछ। हरेक बर्ष खाता नविकरण गर्नुपर्दछ। १ ब्यक्तिले अहिले बढिमा २ वटासम्म डि म्याट खाता खोल्न सक्ने प्रावधान रहेको छ।

प्रतिकृया दिनुहोस्