Monday, September 27

सिधिन लागे विदेशी, कोरियामा साँढे ५ बर्ष यताकै सबैभन्दा कम विदेशी रहेको पाइयो

July 29, 2021 452

दक्षिण कोरियामा अहिले विदेशीहरुको संख्या गत ५ बर्षयताकै सबैभन्दा कम भएको छ। यहाँ रहेका विदेशी नागरिकहरुको संख्या गत १९ महिनादेखि लगातार रुपमा घटिरहेको छ। कोरियाको न्याय मन्त्रालय अन्तरगतको अध्यागमन विभागले दिएको जानकारीअनुसार विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कोरिया छाड्ने विदेशीहरुको संख्या धेरै तथा लकडाउनका कारण कोरिया प्रवेशमा गरिएको कडाइका कारण यो संख्या उल्लेख्य रुपमा घटेको हो।

दक्षिण कोरियामा जुन महिनामा विदेशीहरुको संख्या १९ लाख ८० हजार रहेको पाइएको छ। यो संख्या मे महिनाको भन्दा ०.३ प्रतिशतले घटेको हो। सन २०१५ यताकै विदेशीको संख्या सबैभन्दा कम हो। सन २०१५ को डिसेम्बरमा कोरियामा १८ लाख ९० हजार विदेशी नागरिकहरु रहेका थिए। कोरियामा सन २०१९ को डिसेम्बरमा सबैभन्दा धेरै २५ लाख २० हजार विदेशी थिए। त्यसयता सन २०२० को जनवरीसम्म करिब १ लाख विदेशी घटेका थिए।

गत बर्षको मार्च महिनामा पहिलो पटक कोरियामा ५ बर्ष तिन महिनापछि विदेशीहरुको संख्या २० लाखबाट ओरालो लागेको थियो। कोरियामा छोटो समयका लागि आउने विदेशीहरुको संख्या लामो समय वसोबास गर्न आउनेहरुको भन्दा धेरै घटेको देखिएको छ। कोरियामा ९० दिनको घुम्न आउने भिजा तथा भिजा आवश्यक नपर्ने छोटो समयको लागि आउनेहरुको संख्या ९.१ प्रतिशतले घटेको पाइएको छ। यस्तो छोटो समयका लागि आउनेहरुको संख्या सन २०१३ मा ३ लाख ५६ हजार ८ सय ४२ रहेको थियो।

त्यसैगरी लामो समय कोरियामा रहने गरि आउने विदेशी नागरिकहरुको संख्या पनि घटेर १५ लाख ७० हजारमा झरेको छ। यो संख्या पनि गत बर्षको तुलनामा ६.७ प्रतिशतले घटेको हो। लामो समय बसोबास गर्नेहरुको गत जुन महिनामा १० लाख ९० हजार जनाको विदेशी परिचय पत्र जारी भएको पाइएको छ। यस्तो संख्या पहिलोपटक सन २०१४ मा १० लाख नाघेको थियो। कोरियामा ९० दिनभन्दा लामो समय बसोबास गर्ने विदेशीहरुले अनिवार्य रुपमा विदेशी परिचयपत्र लिनुपर्ने नियम रहेको छ।

देशका आधारमा हेर्दा अहिले कोरियामा सबैभन्दा धेरै चिनियाँहरु रहेका छन। कोरियामा ६० हजार ७२ जना चिनिया रहेका छन भने दोश्रो नम्मरमा भियतनामीहरु छन। कोरियामा भियतनामका नागरिक ४४ हजार ५८ जना छन। त्यसैगरी कोरियामा जापानी नागरिक १४ हजार ५ सय ९५ जना छन भने फिलिपिन्सका नागरिक १२ हजार २ जना रहेका छन। (कोरिया टाइम्स)

प्रतिकृया दिनुहोस्