Tuesday, September 28

नागरिक स्टक डिलरले पायो सञ्चालन अनुमति, ३० प्रतिशत सेयर सर्वसाधारणलाई बाँढ्ने

January 23, 2021 750

माघ ९ गते शुक्रबार नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर कम्पनी’ ले सञ्चालनका लागि अनुमति पाएको छ। यसले धितोपत्र ब्यापारीको काम गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको २७ बर्षे इतिहासमा स्टक डिलरको अनुमति पाउने पहिलो कम्पनी नागरिक स्टक डिलर भएको छ। यस कम्पनीले धितोपत्र बजारमा लगानी गर्नुका साथ साथै बजारमा आउने अस्वभाविक उतार चढावलाई नियन्त्रण गर्ने काम गर्दछ।
यो कम्पनी नागरिक लगानी कोषको सहायक कम्पनी हो जसमा कोषमा ५१ प्रतिशत स्वामित्व रहेको छ भने नेपाल टेलिकमको ९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत स्वामित्व रहेको छ। बाँकी रहने ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याईएको छ। १० अर्ब जारी पूँजी भएको यस कम्पनीको ५ अर्ब चुक्ता पूँजी रहेको छ। अबको २ बर्षभित्र सर्वसाधारणलाई ३० प्रतिशत सेयर निष्काशन गर्नेछ।
स्टक डिलर कम्पनीले बजारमा सेयर मूल्य सस्तो हुँदा खरिद गर्ने र मूल्य बढि हुँदा आपूर्ती बढाई बजारको अस्वभाविक उतार चढावलाई नियन्त्रण गर्न सहयोग पुर्याउने काम गर्दछ। धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य सन्चालन कार्यविधी २०७७ अनुसार स्टक डिलर कम्पनीले २० करोडभन्दा कम चुक्ता पूँजी भएका कम्पनीको सेयर कारोबार गर्न नपाउने प्रावधान रहेको छ। चुक्ता पूँजी कम भएका कम्पनीको कारोबार गर्न दिँदा सेयर एकत्रित वा कर्नरिङ हुन सक्ने र मूल्य अस्वभाविक बढ्न सक्ने हुँदा साना कम्पनीको सेयर कारोबारमा स्टक डिलर कम्पनीहरुलाई रोक लगाइएको हो।
त्यसैगरी स्टक डिलर कम्पनीहरुले एकपटकमा १ हजार कित्ताभन्दा कम सेयरको पनि कारोबार गर्न पाउँदैनन्। सेयर किनबेच गर्दा १ हजारभन्दा बढि कित्ताको किनबेच गर्नुपर्ने बाध्यता छ। त्यसैगरी स्टक डिलरले चुक्ता पुँजी हरेर एकपटकमा १० हजारदेखि बढिमा ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने प्रावधान कार्यविधीमा रहेको छ। ८ अर्व वा सोभन्दा बढि चुक्ता पूँजी भएको कम्पनीको ५० हजार कित्तासम्म, ८ अर्कभन्दा कम ५ अर्वभन्दा माथि चुक्ता पूँजी भएका कम्पनीको ४० हजार कित्तासम्म, २ अर्वभन्दा बढि र ५ अर्बभन्दा कम चुक्ता पूँजी भएका कम्पनीको ३० हजार कित्तासम्म, १ अर्ब देखि २ अर्बसम्मका कम्पनीको २५ हजार कित्तासम्म त्यसैगरि ५० करोडदेखि १ अर्बसम्म चुक्ता पूँजी भएका कम्पनीको २० हजार कित्ता किनबेच गर्न पाउने प्रावधान धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य सन्चालन कार्यविधी २०७७ मा रहेको छ।

प्रतिकृया दिनुहोस्