Wednesday, December 8

‘बिदेशमा दुख गरेर कमाएको पैसा एक टुक्रा जग्गामा खेर नफाल्नुस’ – हरिबंश आचार्य

November 1, 2021 1034

हरिवंश आचार्य, वरिष्ठ कलाकार-म काठमाडौंको टंगाल गैरीधारामा जन्मिएको हुँ। त्यहाँ हाम्रो आफ्नै घर थियो। त्यही घरमा बाल्यकाल बित्यो। पछि, आमा बुवा वित्नुभयो। त्यो घरमा दाजुभाइको अंशबण्डा लाग्थ्यो। घर पनि पुरानो भइसकेको थियो । हामीले घर बिक्री गर्ने योजना बनायौं ।त्यो घर बिक्री गरेपछि केही पैसा आएको थियो। तर, चिनजानकै आफ्नै मान्छेले तिमीलाई नक्सालमा जग्गा दिन्छु भनेर पैसा लगेर खाइदियो। जग्गा दिएन। त्यो मान्छेसँग मेरो ११-१२ बर्षसम्म मुद्दा चल्यो।

मैले मुद्दा जितेपछि पैसा फिर्ता पाएँ। तर, त्यो बेला मेरो पैसाको भ्यालू निकै कम भइसकेको थियो। जग्गाको मूल्य बढेको बढ्यौ थियो, तर पैसा जत्तिको त्यति। मैले फिर्ता पाएको पैसाले अब घरजग्गा आउने अवस्था रहेन। त्यो पैसा पनि मुद्दा मामिलामा उत्रिएर बल्लबल्ल पाइएको थियो। म आफ्नै घरमा जन्मिएको, आफ्नै घरम हुर्किएको मान्छे, एकाएक घरबार बिहीन हुनुपर्यो। घर नहुँदा पिडा हुने रैछ। मलाई निकै पिडाबोध भयो। त्यसबेला मेरो जीवनको उद्देश्य के थियो भने, २ कोठाको टिनले बारेको भएपनि आफ्नै घर बनाउन पाए हुन्थ्यो।

अब मेरा संघर्षका दिनहरु सुरु भए। जीवनमा धेरै मिहिनेत पनि गरियो। मैले २ कोठाको टिनले बारेकै भएपनि आफ्नै घर बनाउन पाए हुन्थ्यो भन्दा भन्दै घट्टेकुलोमा ४ कोठाको ढलान गरेको घर बनाएँ। यो ०३८-३९ सालतिर मैले घर ठड्याएँ। २ वटा कोठामा प्लास्टर गरेका थियौं। २ कोठामा प्लास्टर गर्न पैसा थिएन। २ कोठाको झ्यालमा ग्रिल हालेका थियौं। २ कोठामा हाल्न सकेका थिएनौं। घर भनेको मान्छेको संसार रहेछ। म न्यूयोर्क जाउँ वा बेइजिङ जाउँ, मेरो लागि मेरो घरको बेडरुम सबैभन्दा प्यारो संसार हो। मेरो बेडरुममा पाउने आनन्द कहीँ पाउँदिन।

आफ्नो बेडरुममा पल्टिँदा मिठो निद्रा आउँछ। थकित शरिरमा स्फुर्ती भरिन्छ ।सबैको उद्देश्य आफ्नै घर बनाउने भन्ने हुन्छ। परिवारलाई आफ्नै घरभित्र राख्न पाइयो भने जीवनमा त्यो भन्दा बढी सुखानुभूति अरु केही हुँदैन। अरु भनेको जीवनमा आइलाग्ने नाफा हुन्। मैले जति पनि प्रगति गरेँ, त्यो सबै मेरो जीवनमा आएको नाफा हो । तर, घर मेरो लागि अमूल्य सुख र प्राप्ती हो। सम्पूर्ण प्राणीलाई घर चाहिन्छ। चराले पनि आफ्ना लागि घर बनाएको हुन्छ। आफ्नो घर बनाउन चरोले कति मेहेनत गर्छ। पानीमा पनि माछाले आफू बस्नका लागि घर बनाएको हुन्छ।

कसैका लागि पनि सुखले, मिहिनेतले घर सपना पुरा हुन्छ। घरसँग मान्छेको भावना जोडिएको हुन्छ, खुशी जोडिएको हुन्छ। अहिले म बुढानिलकण्ठमा बस्दै आएको छु। म बिचमा हाउजिङका घरमा पनि बसेँ। पहिला बुढानिलकण्ठकै कम्फर्ट हाउजिङको घरमा बसेँ। त्यहाँ बस्दा मेरी श्रीमती बितिन्। उनको धेरै याद आएपछि बसाइ सारेँ। त्यसपछि म भक्तपुर बालकोटको रोजभिलेज बस्न थालेँ। अहिले बुढानिलकण्ठको हाउजिङ कम्युनिटीको घर हैन, एकल घर हो। बुढानिलकण्ठको घर फराकिलो क्षेत्रफलमा बनेको छ। कम्पाउन्डभित्रै सुटिङ गर्ने ठाउँ पनि बनाएको छु। धेरैजसो सुटिङ त्यहीँ हुन्छ। एउटै कम्पाउन्डभित्र आवास र सुटिङ स्थल छ।

यसरी बनाएँ लालपुर्जा टेलिसिरियल-त्यतिबेला कतिपय ठाउँमा मोहिहरु पिडित थिए, अझै पनि होलान्। जग्गा धनीहरुले मोहीको शोषण गर्थे। कतिपय ठाउँमा मोहिले पनि घरजग्गाधनीलाई शोषण गरेका धेरै उदाहरण छन्। मोहीले धेरै व्यक्तिको जग्गा कमाइरहेका हुन्छन्। उनीहरुसँग धेरैको जग्गा हुन्छ। तर, जग्गाधनीको एउटै ठाउँमा मात्र हुन्छ। त्यही कसैलाई कमाउन दिएको हुन्छ। तर, त्यो जग्गामा मोहीले कब्जा जमाउँदा जग्गाधनी पिडित बन्ने गरेका छन्। उसले त्यहाँ न घर बनाउन पाउँछ, न भोग गर्न पाउँछ। विरानो ठाउँमा गएर घर बनाउँदा लेखेटेर पठाएका उदाहरणहरु पनि प्रशस्त हुन्थे।

धेरै ठाउँमा जग्गाधनी मोहिबाट पिडित थिए। कतिपय ठाउँमा मोहीहरु जग्गाधनीबाट पिडित थिए। मलाई लाग्छ, शहरमा जग्गाधनी बढी पिडित थिए, गाउँघरमा मोहिहरु। त्यो दुबै स्वार्थको अन्त्य हुनुपर्छ भन्ने ध्येय राखेर लालपुर्जा टेलिसिरियल बनाएका हौं। त्यो सिरियलले एक हदसम्म यो समस्या समाधानका लागि जागरण ल्याएको थियो। मेरो काभ्रेको शंखु गाउँमा पुर्खाको जग्गा जमिन थियो । त्यहाँ पनि मोहीहरु धेरै थिए । त्यो बेला ४ भागको १ भाग जग्गाजमिन मोहीलाई र ३ भाग जग्गाधनीलाई हुन्थ्यो। मैले ३ भागको १ भाग मोहिलाई र २ भाग आफैलाई राखेर मोही छुटाएको थिएँ। त्यो बेला सरकारले पनि लालपुर्जा फिल्मको तारिफ गरेको थियो।

समाजमा जागरण ल्याएको भनेर चर्चा भएको थियो। अहिले मैले शंखुमा २ रोपनी जग्गा चाइल्डरिच नेपाल भन्ने संस्थालाई दिएको छु। त्यहाँ मिरा सेन्टर भनेर शिशू स्याहार केन्द्र सञ्चालनमा छ। मेरो श्रीमतिको पनि प्रतिमा राखेका छन्। घर बनाउनेलाई टिप्स-अहिले सानोतिनो कमाइले शहरमा घर बनाउने सपना पुरा गर्न सम्भव छैन। शहरमा घरजग्गा जोडजाम गर्नका लागि धेरै मिहिनेत गर्नुपर्छ। आफ्नै व्यापार व्यवसाय गर्ने र राम्रै आम्दानी गर्नेले घरजग्गा जोड्न सक्छ। पछिल्लो समय विदेशमा गएर कमाउनेले शहरमा घरजग्गा किन्ने गरेको देखिन्छ। सक्नेले ठूलै घर आँट्छन, अलि कम कमाइ गर्नेले जग्गासम्म किनेर फालौं न, सक्दाको दिन घर बनाउँला भन्ने मनस्थिती बनाएर जग्गा किन्छन्। अहिले बिदेशमा दुःख गरेर कमाएको धेरै पैसा सानो टुक्रा जग्गा वा घर किन्नमा मात्र खर्च भइरहेको छ।

आफ्नै घर बनाउनुपर्छ, त्यसमा दुईमत रहेन। तर, विदेशबाट कमाएर ल्याएको पैसाले टुक्रा जग्गामात्र आउँछ, घर बनाउन सकिँदैन भने त्यहाँ किन लगानी गर्ने? यदि तपाईंले कमाएको पैसाले कुनै व्यापार व्यवसाय गर्नुहोस्, त्यहाँबाट कमाएको पैसाले बल्ल घरजग्गा किन्नुहोस्।
आफ्नै व्यापार व्यवसाय भयो भने नियमित आम्दानी पनि हुन्छ ।फेरी विदेशी कमाउन दौडिहाल्नु पनि पर्दैन। मेरो सुझाव छ, ‘दुख गरेर कमाएको पैसालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुहोस् र पैसा कमाएपछि मात्र विलासितामा खर्च गर्नुहोस् ।’ सुरुमै घर, मोटरसाइकल, गाडी, टिभी, फ्रिजमा पैसा खर्च गर्ने होइन ।

अहिले त विदेशबाट ल्याएको पैसा जग्गाजमिन र घरमा खन्याउने, कतिपयले गाडी वा मोटरसाइकल किनेर सिध्याउने गरेको पनि देखिन्छ। अनि आफुसँग भएको पैसा सकिएपछि फेरी कमाउन विदेशतिरै जाने गरेको पनि देखिन्छ। जुन एकदमै गलत हो। सुरुमा आयआर्जन हुने क्षेत्रमा पैसा लगानी गर्नुपर्छ। अनि, पैसा कमाएर मात्र घर बनाउने, बाइक वा गाडी किन्ने, घरमा विलासिताका सामान जोड्दा उत्तम हुन्छ।-नेपालहोम्सबाट।

प्रतिकृया दिनुहोस्