Wednesday, December 8

कोरियन भाषा परीक्षाको तयारी हुँदै, पहिला सिबिटी परीक्षा हुने

November 9, 2021 208

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा पुन: सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँका लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग नयाँका लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिनुभयो।

अबको परीक्षा कम्प्युटर प्रणालीबाट हुने र यसका लागि ईपीएस कार्यालयमा पर्याप्त कम्प्युटर नभएकाले यस पटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशालामा गर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भाषा परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष सकारात्मक रहेको र एक चरणको बसाइपछि टुङ्गिन्छ अनि औपचारिक रूपमा सूचना निकाल्छौँ । ”

महानिर्देशक काफ्लेले सीभीटीको माध्यमबाट भाषा परीक्षाका लागि ईपीएस कार्यालयमा रहेको कम्प्युटर पर्याप्त नभएकाले यस पटक पुुल्चोकमा गरिने र अर्को पटकदेखि ईपीएस कार्यालयमा व्यवस्था गरिने जानकारी दिनुभयो ।

ईपीएस शाखाका अनुसार २०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म भएको छैन । सो वर्ष कोरियाले पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको थियो । केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिँदै आएको थियो ।

पछिल्लो दुई वर्षदेखि कोरोनाका कारण परीक्षा रोकिएका छन् । त्यसपछि महामारीका कारण कोरिया जाने श्रमिक रोकिएका थिए । रोकिएका श्रमिकमध्ये कात्तिकको पहिलो साता ४८ जना प्रतिबद्ध श्रमिक कोरिया गएका थिए । अब क्रमैसँग रोकिएका श्रमिकलाई पनि पठाउने प्रक्रिया सुुरु भएको ईपीएस कोरिया शाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ।

प्रतिकृया दिनुहोस्