Wednesday, December 8

कोरियामा हरेक ६ मा १ जना महिलाले बिहे पछि जागिर छोड्ने गरेको खुलासा, कारण जानौं

November 24, 2021 316

मंगलबार प्रकाशित एक तथ्याङ्क अनुसार दक्षिण कोरियामा हरेक ६ जनामा १ जना महिलाले विवाह पश्चात आफूले गरिरहेको जागिर छोड्ने गरेको पाइएको छ। विवाह भएपछि बालबच्चा जन्माउन तथा हुर्काउन भन्दै उनिहरुले आफूले गरिरहेको जागिर छोड्ने गरेको तथ्य फेला परेको छ।

यो बर्षको अप्रिल महिनासम्म १५ देखि ५४ बर्ष उमेर समूहका महिलाहरु जसले विवाह पछि काम छोडेका छन उनिहरुको संख्या १४ लाख ५० हजार पुगेको छ। स्टाटिक्स अफ कोरियाका अनुसार यो संख्या गत बर्षको यसै अवधिको तुलनामा भने ३.८ प्रतिशतले कम अथवा ५७ हजार जनाले कमि हो। यसरी विवाह पछि काम छोड्ने महिलाहरुको संख्या कुल विवाहित महिलाहरुको संख्या ८३ लाख २० हजारको १७.४ प्रतिशत हुन आउँदछ।

सन २०२१ मा विवाह पछि काम छाड्ने महिलाहरुको संख्या अघिल्लो बर्षको तुलनामा १ लाख ९३ हजारले कमि भएतापनि यस्तो कमि विवाहमै भएको कमिका कारण हुन पुगेको हो। दक्षिण कोरियामा यहाँका युवाहरुले विवाह गर्ने तथा बालबच्चा जन्माउने कुरामा खासै ध्यान नदिँदा केहि बर्षयता कोरियाको जनसंख्या घट्दो छ। भनेजस्तो जागिर नपाउनु तथा आर्थिक मन्दिका कारण उनिहरु विवाह गर्न खासै उत्साहित छैनन। बढ्दो घरजग्गाको मूल्य तथा दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यबृध्दिका कारण जीवनयापनमा कठिनाई हुन थालेपछि युवापुस्ता विवाह तथा बालबच्चा जन्माउने कुरामा टाढा रहेका हुन।

विवाह पछि जागिर छाडेका महिलाहरुमध्ये धेरैजसो अर्थात ४३.२ प्रतिशत अथवा ६ लाख २६ हजार जनाले बालबच्चा हुर्काउनका लागि जागिर छाडेको बताएका छन। त्यसैगरी २७.४ प्रतिशतले भने विवाह गर्नका लागि नै जागिर छोडनुपरेको बताएका छन। २२.१ प्रतिशतले भने जागिर छाड्नुको कारण गर्भवति हुनु वा बच्चा जन्माउने तयारी गर्नु बताएका छन।

त्यसैगरी उमेरअनुसार हेर्दा करिब ४५.२ प्रतिशतल विवाहित महिलाले ३० देखि ३९ बर्षको विचमा जागिर छाडेको पाइएको छ। ४० देखि ४९ बर्षविचका विवाहित महिला जसले विवाह पछि जागिर छोडनेहरुको संख्या ४० प्रतिशत रहेको छ। चालू बर्षको अप्रिल महिनासम्म १८ बर्षभन्दा कम उमेर भएका बच्चाका आमाहरु जसले काम गरिरहेका छन उनिहरुको संख्या २६ लाख १० हजार रहेको देखिएको छ। यो संख्या अघिल्लो बर्षको यसै अवधिको तुलनामा ६६ हजारले कमि हो। कोरियामा विवाहित रोजगार महिलाहरु ६१.१ प्रतिशत पुगेका छन। यो संख्या गत बर्षको तुलनामा एक प्रतिशत बढेको हो।

प्रतिकृया दिनुहोस्