Thursday, October 6

ड्राइभर बिनाका कारले अब कोरियामा यात्रु बोक्ने, यहि हप्ताबाट यो सेवा सुरु हुँदै

November 30, 2021 822

विश्वका कतिपय देशहरुले अझै पनि कल्पनासमेत नगरेको कुरा दक्षिण कोरियाले पूरा गर्दैछ। विना ड्राइभरका कारहरुले अब कोरियामा यात्रुहरु बोक्नेछन। दक्षिण कोरियाले यसै हप्ताबाट बिना ड्राइभर सेल्फ ड्राइभिङ हुने कारहरु सर्वासाधारणका लागि सन्चालनमा ल्याउने भएको छ। कोरियाले पहिलो पटक राजधानी सउलमा यहि हप्ता यस्ता कारहरु सन्चालनमा ल्याउन लागेको सउल सिटी सरकारले सोमबार जानकारी दिएको छ। यसको सफलतापूर्क सन्चालनसँगै अटोमेटिक गाडीको दुनियाँमा दक्षिण कोरिया प्रवेश गर्नेछ।

सउल मेट्रोपोलिटन सरकारका अनुसार सर्वसाधारणका लागि यहि मंगलबारबाट ३ वटा बिना ड्राइभरका पूर्ण स्वचालित कारहरुले सेवा सुरु गर्नेछन। सउलको पश्चिमी क्षेत्र साङगाम दोङलाई पाइलट जोन निर्धारण गरि यो सेवा सुरु गर्न लागिएको हो। यि ३ वटा पूर्ण स्वचालित कारहरुले डिएमसी स्टेशनबाट यात्रुहरुलाई नजिकैका अपार्टमेन्टहरु तथा अफिसहरुमा पुर्याउनेछन।

यस सेवामा अत्याधुनिक रिजर्भेसन सिस्टम राखिएको छ जसबाट यात्रुहरुले सेल्फ ड्राइभिङ कार एप ‘ट्याप’ का माध्यमबाट कल गरेर कार बोलाउन सक्नेछन। तोकिएको स्टेशनमा पुगेर कारले यात्रुलाई कुर्नेछ। ‘यो बिना ड्राइभरको पूर्ण स्वचालित सेवाले कोरियमा सेल्फ ड्राइभिङ यातायात सेवाको क्षेत्रमा पहिलो खुट्किलाका रुपमा काम गर्नेछ। नागरिकहरुले विना झन्झट सुलभ तरिकाले यो सेवाको प्रयोग गर्न सक्नेछन।’ सउल सरकारका एक अधिकारीले जानकारी दिए।

त्यसैगरी आउँदो डिसेम्बर महिनाको अन्तिमसम्ममा अरु थप ३ वटा गाडीहरु थप हुनेछन भने अर्को एउटा विना ड्राइभरको स्वचालित बस समेतले सेवा सुरु गर्नेछ। यि गाडीहरुले पनि सानगाम दोङमा उहि रुटमा सेवा दिनेछन। स्थानिय सरकारका अनुसार सन २०२६ सम्ममा यस ठाउँमा पूर्ण स्वचालित ड्राइभर विनाका गाडीहरु थप गरी ५० भन्दा माथि पुर्याइनेछ। सरकारले एक महिनाका लागि नागरिकहरुलाई विना ड्राइभरको स्वचालित गाडीको अनुभव लिनका लागि निशुल्क सेवा प्रदान गर्ने बताएको छ भने आउँदो जनवरीबाट भने शुल्क लिएर सेवा सन्चालन हुनेछ।

स्थानिय सरकारले पूर्ण स्वचालित बसका लागि प्रतिब्यक्ति १ डलर अर्थात करिब १ हजार २ सय कोरियन वन भाडा प्रस्ताव गरेको छ भने पूर्ण स्वचालित कारका लागि भने प्रतिब्यक्ति ३ हजार कोरियन वन प्रस्ताब गर्ने भएको छ। तर यस्ता सेवा प्रवाह गर्ने निजी कम्पनीहरुले यो भन्दा कम भाडा समेत लिन सक्नेछन। स्थानिय सरकारले सोमबार एक कार्यक्रमको आयोजना गर्दै व्यवसायिक रुपमा पूर्ण स्वचालित गाडीको सन्चालनको घोषणा गरेको छ भने यसै अवसरमा सेवा प्रवाह गर्न २ वटा कम्पनीहरुलाई लाइसेन्स समेत दिएको छ। कार्यक्रममा सरकारका मेयर ओ से हुनले पहिलो यात्रुका रुपमा यात्रा गर्दै करिब २.९ किलोमिटको यात्रा तय गरेका थिए। यो समाचार योनहाप न्यूज एजेन्सीको सहयोगमा सन्तोष न्यौपानेले नेपाली भाषामा तयार पारेका हुन।

प्रतिकृया दिनुहोस्