Saturday, June 25

सन २०२२ का लागि कोरियाले गर्यो कोटा निर्धारण, हेरौं उत्पादनमूलक र कृषि क्षेत्रमा कति?

December 10, 2021 3411

दक्षिण कोरियाले सन २०२२ का लागि विदेशी कामदारको कोटा तोकेको छ। आज बसेको विदेशी कामदार पोलिसी निर्धारण समितीको बैठकले यस्तो कोटा तय गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले जानकारी दिनुभएको छ। यो कोटा दक्षिण कोरियाले सन २०२२ मा नयाँ भाषा परीक्षा गरेर तथा कोरियामा ४ बर्ष १० महिनाको कार्यकाल सकि फर्केकाहरुको हुने स्पेशल भाषा परीक्षा (सिबिटी) सहित हो।

प्रवासी मजदूर युनियनका अध्यक्षले दिनुभएको जानकारी अनुसार आजको बैठकले सन २०२२ मा कोरियाले कुल ६६ हजार विदेशी कामदार भित्राउने योजना बनाएको छ। कोरियाले एशियाका विभिन्न १६ वटा देशहरुबाट विदेशी कामदार लैजाने गरेको छ। यसमा नेपाल सहित पाकिस्तात, भियतनाम, श्रीलङ्का, बंगलादेश, फिलिपिन्स, कम्बोडिया लगायतका देशहरु रहेका छन।

सन २०२२ को कुल ६६ हजार विदेशी कामदारको कोटामध्ये उत्पादनमूलक क्षेत्रमा ४३ हजार कामदार कोरिया भित्राइनेछ भने कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३० जना विदेशी कामदार कोरिया लगिनेछ। माछापालन क्षेत्रमा ४ हजार ६ सय ४० जना तथा निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० कामदार सन २०२२ मा कोरिया जान पाउनेछन। कोरियाले सेवा क्षेत्रमा २ सय ६० जना विदेशी कामदार भित्राउनेछ। नेपालबाट मूख्य गरी उत्पादनमूलक र कृषिक्षेत्रमा कामदारहरु दक्षिण कोरिया जाने गरेका छन।

विदेशी कामदार पोलिसी निर्धारण समितीको बैठकले आज तय गरेको ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन। नयाँ कामदार भन्नाले नयाँ भाषा परीक्षा दिएर कोरिया जाने कामदार पर्दछन। त्यसैगरी बाँकी २३ हजार ४ सय ७० जना भने कमिटेड अर्थात प्रतिबध्द कामदार रहनेछन। प्रतिबध्द कामदार भन्नाले कोरियामा एउटै वा उहि प्रकृतिको कम्पनीमा लगातार ४ बर्ष १० महिना काम गरेका कामदारहरु पर्दछन।

त्यसैगरी यस भन्दा अघि नै बताइए अनुसार कोरियामा कामदारको अभावका कारण जनवरी १ देखि अप्रिल १२ तारिखसम्म भिजा अवधि सकिन लागेका विदेशी कामदारहरुलाई थप १ बर्ष भिजा थप्ने समेत निर्णय भएको छ। आजको यो निर्णयसँगै कोरिया प्रवेशका लागि प्रकृया पूरा गरेर प्रतिक्षारत विदशी कामदारहरु सहज तरिकाले छिटै कोरिया प्रवेश हुने अपेक्षा लिन सकिन्छ।

प्रतिकृया दिनुहोस्