Saturday, January 22

कोरियामा केहि बेर अघि गयो भूकम्प, हल्लियो कोरिया, क्षतिबारे समाचार आउन बाँकी

December 14, 2021 410

दक्षिण कोरियामा आज भूकम्पको धक्का महसुश भएको छ। कोरियाको दक्षिणी टापु छेजुदोमा मंगलबार दिउँसो ४.९ रिक्टरस्केलको भूकम्प गएको यहाँको राष्ट्रिय मौषम एजेन्सीले जानकारी दिएको छ। भूकम्पबाट अहिले सम्म त्यति ठूलो जनधनको क्षति भएको समाचार प्राप्त नभएको कोरियाली सन्चारमाध्यमहरुले जानकारी दिएका छन।

भूकम्प स्थानिय समय अनुसार दिउँसो ५ बजेर १९ मिनेटमा गएको हो। यसको केन्द्रबिन्दू छेजुदो टापुको सेगविपो शहरबाट ४१ किलोमिटर टाढा समुन्द्रमा भएको बताइएको छ। कोरिया मेट्रोलोजिकल एडमिनिष्ट्रेशन (केएमए) का अनुसार यसको इपिसेन्टर ३३.१४ डिग्री उत्तरी ल्याटिच्युट तथा १२६.२४ डिग्री पूर्वि लङगिच्युटमा रहेको छ।

भूकम्पको केन्द्र १७ मिटर गहिराईमा रहेको कोरियाली सन्चार माध्यमहरुले जानकारी दिएका छन। छेजुदो आसपासमा वसोवास गर्नेहरुले भूकम्पको धक्का दह्रोसँग महशुस गरेका छन भने अन्य क्षेत्रमा सामान्य धक्का महशुस भएको छ।

छेजुदोका स्थानिय वासिन्दाहरुका अनुसार यसको कम्पनले घरभित्रको फ्रिज हल्लिएको तथा घरभित्रका बालबच्चाहरु डरले चिच्याउँदै घरबाहिर दौडिएको बताइएको छ। कोरियाको नेशनल फायर एजेन्सीका अनुसार देशका विभिन्न ठाउँमा मानिसले आफूहरुले कम्पन महशुस गरेको रिपोर्ट गरेका छन। तर यसले ठूलो क्षति पुर्याएको कुनै पनि समाचार आइसकेको छैन।

कोरिया मेट्रोलोजिकल एडमिनिष्ट्रेशन (केएमए) ले यो भूकम्पलाई सुरुमा ५.३ रिक्टरस्केलको भएको जानकारी दिएपनि पछि यसलाई सच्याउँदै ४.९ रिक्टर स्केलको भएको बताएको छ। केएमए ले अहिले यसबाट भएको क्षतिबारे जानकारी संकलन गरिरहेको बताएको छ। भूकम्प गएको नजिकका क्षेत्रहरुको माटो कमलो भएका कारण यसले क्षति पुर्याएको हुन सक्ने केएमले अनुमान गरेको छ। यो समाचार योनहाप न्युज एजेन्सीको सहयोगमा सन्तोष न्यौपानेले नेपाली भाषामा तयार गरेका हुन।

प्रतिकृया दिनुहोस्