Friday, June 25

अबैधानिक बिदेशीहरुलाई राहत, धरौटी रकम जम्मा गर्न सके जेल बस्नुनपर्ने

January 30, 2021 497

दक्षिण कोरियाको न्याय मन्त्रालयले अबैधानिक बिदेशीहरुका लागि नयाँ नियम ल्याएको छ। नयाँ नियमअनुसार कोरियाको इमिग्रेशन कानुन उल्लङ्घन गरि आफ्नो देश फर्किनु पर्ने अवस्थाका बिदेशी नागरिकहरुले अब निश्चित रकम जम्मा गर्न सके तत्काल डिपोर्ट सेन्टर अथवा जेलमा बस्नु नपर्ने भएको छ।

न्याय मन्त्रालयले भनेको छ अहिले कोरोना भाइरस महामारीका कारण डिपोर्ट सेन्टर तथा जेलहरुमा भिडभाड कम गर्ने उदेश्यले यस्तो नियम ल्याउनुपरेको हो। नयाँ नियमअनुसार बिदेशी जसलाई अबैधानिक ठहर गरी कोरिया छाड्न भनिएको छ उनिहरुले २ करोड वन अर्थात करिब १८ हजार डलर धरौटी रकम जम्मा गर्न सकेमा तत्काल डिपोर्ट सेन्टर वा जेलमा बस्न बाध्या पारिने छैन।

डिपोर्ट सेन्टर तथा जेलहरुमा भिडभाड कम होस भनेर यो नियम ल्याइएको बताइएको छ। अहिले दक्षिण कोरियामा यस्ता ठाउँहरुबाट कोरोना भाइरस फैलिरहेको छ। यस्ता भिडभाड हुने ठाउँहरुमा सामाजिक दूरी कायम गर्न गाह्रो हुने, खानपान तथा सरसफाईमा ध्यान कम पुग्ने हुँदा कोरोना भाइरसको जोखिम उच्च रहने गर्दछ।

गत अगष्ट महिनाको तथ्याङ्क अनुसार कोरियाको ख्यङ्गिदो प्रदेशको ह्वासङ शहरमा रहेको डिपोर्ट सेन्टर र छल्लानाम्दो प्रदेशको येशुमा रहेको यस्तो सेन्टरमा ७६० जना अबैधानिक विदेशी रहेका थिए। यो सङ्ख्या कोरोना महामारीभन्दा पहिलेको सामान्य अवस्थाभन्दा करिब दोब्बर हो।

अबको नयाँ नियमअनुसार तोकिएको २ करोड वन रकम धरौटी जम्मा गर्न सके अबैधानिक भनि आफ्नो  देश फर्कन पर्नेहरुले तत्कालै जेल बस्नुपर्ने अवस्था टरेको छ। तर तोकिएको समयमा भने आफ्नो देश फर्कनुपर्ने हुन्छ। तोकिएको समयमा नफर्कने तथा ढिला गरेमा धरौटी रकम पुरै फिर्ता नपाइने तथा केहि रकम कट्टा गरि फिर्ता हुन सक्दछ। तोकिएको समयमा फर्केमा भने पुरै धरौटी रकम फिर्ता हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्