Monday, September 26

कोरियामा मेशिनले निल्नै लाग्दा समेत जोगिन सफल अर्जुनको उठ्ने प्रयास, अवस्य पढ्नुहोला।

February 9, 2022 990

म अर्जुन तामाङ। नुवाकोट मेघाङ गाउँपालिका बर्सुन्चेत १ हो। नेपालमा केही गर्ने कोशिस असफल भए पछि दुई चार बर्षकोको कडा मेहनत गरेर २०१७ मा कोरियाली भाषा पास गरॅे । २०१८ को जुलाई २५ मा कोरिया आएको हुँ। मैले ख्याङसान नाम्दोको जिन्यङ भन्ने ठाउँमा फुड कम्पनीमा काम पाएको थिएँ। मेलै काम गर्ने कम्पनीमा किम्ची र मुलाको विभिन्न अचारहरु बन्थे। तलब कम, काम पनि खासै नहुने। बेसिक पनि नहुनि भए पछि म सँगसँगै आएका साथीहरु कम्पनी छाडेर हिडे। मेरो सुरुसुरुको एक महिना सम्म मुलाको अचार बनाउने काम पर्यो। किम्चीको कामभन्दा अलि सजिलो। त्यसैले पनि तत्काल कम्पनी परिवर्तन गर्ने माहोल बनेन। जब एक महिना बित्यो मलाई किम्ची बनाउने ठाउँमा ल्याए। काम साह्रै गाह्रो। अनि मैले पनि कम्पनी चेन्ज गर्ने सोच बनाउदै थिए तर मलाई तुरुन्तै लेटर दिएन।

कम्पनीका साहुले काम छोडेर जाने भए नेपाल फिर्ता गरिदिने धम्की दिन्थे। कम्पनीमा कुरा हुँदै गर्दा ठ्याक्कै कोरियाली महान चाड छुसक आउन २ दिन बाँकी थियो। पहिलो पटक लामो बिदा हुन लागेको थियो। कोरियामा गाउँले, आफन्त थिए। भेटघाट भएको थिएन। त्यसैले आफन्त भेट्ने सपना देख्दै थिएँ। बिदाको अघिल्लो दिन। काम सकिन करिब १ घण्टा बाँकी हुँदा रड नै रडको गोलो लाम्चो मेसिनमा परेँ। त्यो मेसिनमा बन्दा कोपी र मसला घोलिन्थ्यो। साढे तीनको ब्रेकको समयमा थियो। ब्रेकको बेलामा एउटा दुईदुटा बन्दाकोपी बाँकी रहेछ। त्यो ननिकाली नयाँ हाल्न मिल्दैनथ्यो। त्यसैले मैले त्यो निकाल्न मेसिनमा हात हालेको। एउटा हातले मेसिन चल्ने बटम थिचिएछ। रडले हात च्याप्यो। मैले हात निकाल्न भ्याइन। मेसिनले विस्तारै हात तान्दै लग्यो। एउटा रड र अर्को रडको फरक एक फिट जतिको हुँदो हो। हात तानिदै गएपछि ज्यान पनि मेसिनभित्र छिरेछ। म होसैमा थिएँ। हेर्दाहेर्दै मेरो दाहिने हात कर्याक्क गरेर भाँचिएको आवाज आयो। खुट्टामा कल्पना नै गर्न नसकिने पीडा सहित अलि ठूलो आवाज आयो। मैले आफ्नै खुट्टा उल्टो फर्किएको देखेँ।

म चिच्याएको सुनेपछि नजिकका दाइहरुले कसले मेसिन बन्द गरिदिएछ। एम्बुलेन्स आयो। मेसिनबाट निकाल्ने औजार सहित मान्छे आए। खेतको बीचमा थियो कम्पनी। मलाई पहिला पहिला लाग्थ्यो यस्तो खेत बीचको कम्पनीमा के सुविधा छर? अनेक गर्दा निकाल्न सकेनन्। म होसैमा मा थिएँ। अहिले सम्झदा दुखे दुखेको कल्पना मात्रै गर्न सक्छु। शब्दमा ती अनुभनुव लेख्न कसरी सक्नु? मेसिन काटेर निकाले। सामसुङ अस्पताल लगे। दुखेको दुखेकै। आफूलाई सम्हाल्न सकिरको थिएन। बौलएर कराको कराकै थिएँ। मलाई औषधी दे औषधी दे तर दिएनन तीन चार घण्टा यता उता डुलाई रहे। म रोइरहे, कराईरहेँ। बेहोस् पनि वनाएन। राती ८ बजे तिर अपरेसन गर्ने भनेर साइन गर्न लगायो। कोरियाली भाषा खासै नआउने। मेलै अंग्रेजीमै “डन्ट कट माई लेग” भने। डक्टरले बुझे कि बुझेनन् भगवान जानुन्। कति दिनमा कुन डेटमा मेरो होस् खुल्यो थाहा भएन। हस्पिटल बेडमा सुतेकोछु। बिहान १५ मिनेट बेलुका आफन्त तथा साथि भाई भेट्ने समय थियो।

अस्पतालको भिते घडि घुम्दै घुम्दैन। त्यसरीनै दिनहरु बित्यो। कष्ठ र पिडाको कुनै सिमा थिएन। मानशिक र शारीरिक रूपमा मलाई एकदम पिडा थियो। कुनै बेला यस्तो पनि आयो पीडा सहन नसकेर डाक्टरलाई मलाई बरू विष दिएर मारिदे भनेँ। यस्तो पीडा सहनु भन्दा फ्याट्टै मर्न सजिलो होला भन्ने लाग्थ्यो। त्यो बेला नराम्रोसँग सुत्न सकेँ न दुखाई नै कम भयो। दिसा डाईपरमा पिसाब को लागि पाईप दाहिने हात, देब्रे खुट्टा २ ठाउँमा, करङको एउटा हड्डी र दैने खुट्टा भाचिएको थियो। अस्पताल बस्दा हरेक दिन मलाई भाग्यले ठग्दै गयो । दुई महिनापछि सुरुमा मेरो खुट्टाको औंला काटियो। त्यसको एक महिनापछि खुट्टानै काटियो तै पनि सम्हाले। म अस्पतालमै उपचार गरेर छ महिना बसेँ। शरीरमा राखेको स्टिल निकाल्नको लागि पर्खाईमा एक बर्ष गरि झन्डै दुई बर्ष अस्पताल बसेँ। त्यसपछि जिना दिदीकोमा सात आठ महिना बसेँ। आँफै खाना बनाएर बस्न सक्ने भए पछि छुट्टै कोठा लिएर बसेँ। खुट्टामा स्टिल राखेको थि यो। मेरो खुट्टाबाट स्टील निकालियो। अनि अहिले मैले कृत्रिम खुट्टा राखेको छु। यसका लागि मलाई नुवाकोट समाज साउथ कोरिया बाट २५ लाख वन हेल्प गर्नुभयो। GME REMITTANCE बाट ३ लाख वन पाएको छु। खुट्टा राखेको लगभग १ बर्ष पछि इन्सुरेन्सुरेन्सको सबै प्रक्रिया सकियो।

मैले काम गर्ने निर्णय गरेँ। अहिले मैले कृत्रिम खुट्टा राखेर काम गरेको पनि ८ महिना जति भयो। गर्मी महिनामा खासै कुनै समस्या नभए पनि जाडो बढे पछि खुट्टाको दुखाई बढेर आयो। कम्पनीले दिने क्षति पुर्तिपुर्ति मासिक दिने भएको हुँदा अझै १ बर्ष कोरिया बस्नै पर्ने त्यसका लागि काम गर्न थालेको नसक्ने अबस्था आयो। उभिएर कामै गर्न नसक्ने भइयो। अस्पताल बस्ने बेला टाईम पास गर्नलार्ई अनलाईन भिडियो गेम खेल्थें। साथीहरुसँग कुरा गर्दा टाईम पास हुन्थ्यो। त्यही समयमा मैले युट्युव च्यानल खोलेर मैले खेलेको गेमको भिडियो पनि अप्लोड गर्थे। तर च्यानलमा हेर्ने मान्छे धेरै नभएकोले अगाढी बढाउन सकिएन। अहिले काम गर्न नसक्ने अनि समय धेरै भएकोले मैले त्यही युट्युव च्यानललाई अगाडि बढाउने प्रयास गर्दैछु। त्यही युट्युवलाई अगाडी बढाउने मेरो पुरा प्रयास हुनेछ। यसमा यहाँहरुले पनि सब्सक्राइब गरेर सकेको सहयोग गरिदिनुहोला। यो सामाग्री फोनिज कोरियाका लागि अर्जुन तामाङ आफैले लेखेका हुन। मेराे युट्युव च्यानल लिङ्क

 

प्रतिकृया दिनुहोस्