Monday, September 26

कोरोनाले डाँडो काट्यो कोरियामा, देखिन थाल्यो दैनिक संक्रमित लाख भन्दा बढि

February 18, 2022 302

दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट ‘‌ओमिक्रोन’ फैलिएसँगै दैनिक संक्रमितहरुको संख्याले डाँडो काटेको छ। शुक्रबार एकैदिन कोरियामा एक लाखभन्दा बढि संक्रमित थपिएको छ। तिब्र गतिमा फैलन सक्ने कोरोनाको ओमिक्रोन भेरियन्टकै कारण कोरियामा यस्तो अवस्था देखिएको विश्लेषकहरु बताउँदछन।

बढ्दो कोरोनाका बावजुद पनि यहाँको सरकारले सामाजिक दूरीका नियममा केहि खुकुलो पारेको छ। सामाजिक दूरीका कारण कोरियाका साना तथा मझौला ब्यापार व्ययवायमा प्रत्यक्ष रुपमा असर परेको भन्दै उनिहरुबाट तिब्र बिरोध भएसँगै कोरियाली सरकारले सामाजिक दूरीका नियममा केहि खुकुलो पार्ने निर्णय गरिसकेको छ जसका कारण आउँदा दिनहरुमा दैनिक संक्रमितहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

शुक्रबार कोरियामा १ लाख ९ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये १ लाख ९ हजार ७ सय १५ जना स्थानिय संक्रमित हुन भने बाँकी विदेशबाट कोरिया प्रवेश गरेकाहरुमा देखिएको संक्रमण हो। शुक्रबारको १ लाख ९ हजार ८ सय ३१ संक्रमित सहित कोरियामा अहिले सम्म कुल १७ लाख ५५ हजार ८ सय ६ जनामा कोरोना पुष्टि भएको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले बताएको छ।

कोरोना संक्रमितहरुको संख्यामा उच्च बृध्दि भएता पनि यसबाट सिकिस्त हुने हरुको संख्या भने तुलनात्मक रुपमा कमै रहेको छ जुन सकारात्मक भएको जानकारहरु बताउँदछन। कोरियामा कोरोनाका सिकिस्त विरामीको संख्या ३ सय ८५ रहेको छ जुन अघिल्लो दिनभन्दा ४ जना बढि हो। यो संख्या लगातार ५ दिनदेखि ३ सय भन्दा माथि रहेको छ।

विगत केहि हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा तिब्र बृध्दि देखिएको छ। अत्यन्त संक्रामक कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टकै कारण यस्तो संख्यामा अत्याधिक बृध्दि भएको र आउँदा दिनहरुमा अझ बढ्न सक्ने अनुमान जानकारहरुले गरेका छन। गत एक हप्तामै कोरियामा दैनिक संक्रमितहरुको संख्या दोब्बर भएको छ। गत फेब्रुअरी १० तारिख पहिलो पटक दैनिक संक्रमितको संख्या ५० हजार नाघेको थियो।

प्रतिकृया दिनुहोस्