Saturday, May 21

कोरियामा आज कोरोना संक्रमणले बनायो रेकर्ड, थपिए अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित

February 23, 2022 310

दक्षिण कोरियामा बुधबार दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ। बुधबार यहाँ १ लाख ७० हजार भन्दा धेरै संक्रमित थपिएका छन। बुधबारको संख्या एक हप्ता अघिको भन्दा लगभग दोब्बर हो। एकदमै संक्रामक रहेको कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टका कारण दैनिक संक्रमित हुनेहरुको संख्या तिब्र रुपमा बढिरहेको बताइएको छ।

बुधबार कोरियामा १ लाख ७१ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये १ लाख ७१ हजार २ सय ७१ जना स्थानिय संक्रमित हुन। बुधबारको १ लाख ७१ हजार ४ सय ५२ जनासहित कोरियामा अहिले सम्म संक्रमित हुने हरुको कुल संख्या २३ लाख २९ हजार १ सय ८२ पुगेको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ‘केडिसिए’ ले जनाएको छ।

बुधबार अघिल्लो दिनको तुलनामा संक्रमण ह्वात्तै बढेको हो। अघिल्लो दिन अर्थात मंगलबार कोरियामा ९९ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको थियो। यस अघिको सबैभन्दा धेरै दैनिक संक्रमण गत आइतबार देखिएको थियो। उक्त दिन १ लाख ४ हजार ८ सय १४ जनामा संक्रमण भेटिएको थियो।

कोरियामा देखिएको अहिलेको संक्रमण कोरोनाको ओमिक्रोन भेरियन्टका कारण भएको बताइएको छ। कोरियामा एकै हप्तामा दैनिक संक्रमितको संख्या झण्डै दोब्बर भएको हो। बुधबारको यो संख्या २ हप्ता अगाडीको भन्दा चार दोब्बर भएको हो। त्यसैगरी दैनिक संक्रमितहरुको संख्या बढ्दै गएपछि यसका सिकिस्त बिरामीहरु पनि बढ्न थालेका छन।

बुधबार कोरोनाका सिकिस्त बिरामीहरुको संख्या अघिल्लो दिनको तुलनामा ३२ जना बढेर ५ सय १२ पुगेको छ। केहि दिन यता यो संख्या पनि बढ्न थालेको छ। गत हप्ता यो संख्या २ सयको हाराहरीमा रहेको थियो। गत शनिवार सिकिस्त विरामीहरुको संख्या ४ सयको हाराहारीमा पुगेको थियो। बुधबार यो संख्या ५ सय नाघेको छ। संक्रमण बढेसँगै घरमै उपचाररत बिरामीहरुको संख्यामा पनि तिब्र बृध्दि भइरहेको छ। बुधबार घरमा उपचाररतहरुको संख्या अहिले सम्मकै सबैभन्दा उच्च ५ लाख २१ हजार २ सय ९४ पुगेको छ।

प्रतिकृया दिनुहोस्