Saturday, May 21

मौषमी कामदार कोरियामा पठाउन चर्को दबाब, मन्त्री श्रेष्ठ भन्छन इपिएस कामदारलाई मार पर्छ

February 23, 2022 802

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव परेको बताएका छन् । इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन्।

सोमबार पार्टी निकट युवा सङ्घ, नेपालले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले इपिएस प्रणाली पास गरेर बसेकाहरूलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दबाबलाई बेवास्ता गरिरहेको बताए।

मन्त्री श्रेष्ठले इपिएस प्रणाली पास गरेकाहरूलाई आफूले एक हप्ताभित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे। उनले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भइरहेको पनि बताए । मन्त्री श्रेष्ठले आफूले इपिएस प्रणालीबाट पास गरेकाहरूलाई कोरिया पठाउने कामलाई पहिलो प्राथमिकता दिएको पनि पटकपटक दोहोर्‍याए।

यता, पीडितहरूले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठलाई दबाब दिएका थिए । लुम्बिनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरूलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गरिन् । उनले कामदार छनोटमा पनि महिलाहरूमाथि विभेद हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

वाग्मती प्रदेशका अनमोल भट्टराईले कोभिड सङ्क्रमण हुन नदिने गरी विदेश जानेहरूलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे । उनले सरकारले आफ्ना नागरिकलाई प्रक्रिया पूरा गरेर पनि विदेश पठाउने काममा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे । भट्टराईले भीडको बीचमा कोभिड परीक्षण गर्नुको कुनै अर्थ नहुने पनि बताए।

प्रतिकृया दिनुहोस्