दक्षिण कोरियाको छल्लावोक्दो क्षेत्रको छाङ्सुमा जङ्गलमा लाग्ने डँढेलो नियन्त्रक पोष्टको जागिर खानका लागि लिइने दौड परिक्षा दौडिने क्रममा एक ६४ बर्षिया कोरियनको मृत्यु भएको छ। यो घटना पहिलो पटक घटेको भने होइन। यसअघि यसै किसिमको दौडमा अर्का एक जनाले पनि ज्यान गुमाएका थिए। बन रेखालु पोष्टमा डँडेलो लाग्दा पानी बोकेर कत्तिको छिटो दौडन सक्छन भनि जाँच्ने गरिन्छ।
मृतकले यस परीक्षामा १३ मिनेट समयमा १२०० मिटर पानीसहितको पम्पको भाँडो आफ्नो पिठ्युँमा बोकी दौडेर पुरा गर्नुपर्ने थियो। बोकेर दौडिन पर्ने पानी भएको पम्पको भाँडो १५ किलोग्रामको थियो। यो परिक्षा छाङ्सुको दोसान भन्ने गाउँको एउटा बिध्यालयको मैदानमा भइरहेको थियो।
उक्त ६४ बर्षिया पुरुषले दौडको लागि तोकिएको १२०० मिटरमध्ये ६०० मिटर दूरी पार गरेपछि ढल्न पुगे। दौड परीक्षामा दुर्घटना हुन सक्ने आशंकामा केहि मेडिकल टिम पनि साथमा थियो। नजिकैको मेडिकल टिमले हतपत उनलाई नजिकैको अस्पताल पुर्याए। तर उनले यो संसार छाडे।
मृतकले १० बर्षदेखि बन रेखालुकै जागिर खाएका थिए। तर रेखालुका लागि समेत नयाँ नियम र परिक्षा पास गर्नैपर्ने अवस्था आएपछि उनले यो दौड प्रतियोगिता पूरा गर्नैपर्ने अवस्था आइपरेको थियो। पहिले उनले बन रेखालुको काम गर्दा दिनभर बनमा हुन्थे भने साँझमा नजिकैको बजारमा फ्राइ चिकेन बेच्ने सानो रेष्टुरेन्ट चलाउने गर्दथे। तर कोरोनाका कारण रेष्टुरेन्ट चौपट भएपछि उनलाई बाँच्न नै धौ धौ परिसकेको थियो। जाङ्सु काउन्टीले पार्ट टाइमर बन रेखालुको माग गरेपछि उनले उक्त पोष्टका लागि आवेदन गरेका थिए। रेखालुले फेब्रुअरीदेखि जुन महिनासम्म काम पाउँथे। बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म गर्नुपर्ने यो डिउटीबाट दैनिक ६९ हजार ८०० वन ज्याला पाउने थियो। ४४ जना पोष्टका लागि ६९ जना दौडमा सामेल थिए।
कोरिया वन सेवा, जुन राष्ट्रिय सरकार अन्तर्गत रहि काम गर्छ उसले यस्तो किसिमको दौड परिक्षा लिन थालेको थियो। पानी बोकी छिटो दौडिने मान्छेले बनमा डँडेलो लाग्दा छिटो र राम्रो काम गर्न सक्छ भन्ने सोचेर यस्तो दौड परिक्षा गर्ने गरिएको बताइएको छ। तर पटक पटक यस्तो दुर्घटना भएपछि सरकारले दौडको दूरी २ किलोमिटरबाट १२०० मिटरमा छोट्याएको थियो।
गत अक्टोबरमा पनि यस्तै किसिमको घटना घटेको थियो। छाङ्वन भन्ने ठाउँमा एक ७१ बर्षिय पुरुषले ज्यान गुमाउनु परेको थियो। १५ किलोग्रामको पानीको भाँडो बोकी दौडेका उनले मात्र ५० मिटर दौडिदा ज्यान गुमाएका थिए। अक्टोबरकै अन्त्यतिर गुन्वी क्षेत्रका एक ५९ बर्षिय पुरुषले पनि यस्तै परीक्षामा ज्यान गुमाएका थिए।
तस्विर: योनहापबाट
प्रतिकृया दिनुहोस्