Tuesday, June 22

बुधबार कोरियामा फेरी बढ्यो कोरोना संक्रमण

February 3, 2021 404

दक्षिण कोरियाको दैनिक नयाँ कोरोना संक्रमण फेरि ४०० माथि पुगेको छ। लगातार ३ दिनसम्म ३०० सयको हाराहरीमा रहेको संक्रमण बुधबार बढेको हो। कडा सामाजिक दूरीको नियम लागु गरिरहेको कोरियामा बुधबार ४६७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार बुधबार ४३३ जना स्थानिय संक्रमित सहित ४६७ जनामा संक्रमण पुष्टि भएसँगै कोरियामा जम्मा संक्रमित हुनेको संख्या ७९ हजार ३११ पुगेको छ। डिसेम्बर २५ मा कोरोना संक्रमणको तश्रो लहरको उच्चतम बिन्दुमा रहेको भाइरस त्यसपछि भने बिस्तारै घट्दै गइरहेको छ। डिसेम्बर २५ मा एकैदिन १२४१ जनामा कोरोना संक्रमण भएको थियो।

गत आइतबार कोरियामा ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सोमबार ३०५ जना नयाँ संक्रमित थपिएका थिए। यो संख्या गत ५ दिनमा पहिलो पटक ३०० को लाइनमा झरेको हो।

अबैधानिक रुपमा संचालन भएका क्रिश्चियन मिसनरी ग्रुपका स्कुलहरुमा सामूहिक संक्रमण फैलिएपछि केहि दिनयता कोरियामा संक्रमण ह्वात्तै बढेको थियो। स्वास्थ अधिकारीहरुले सउल क्षेत्रमा २.५ लेभलको सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागु गरेका छन् भने अन्य क्षेत्रमा २ लेभलको नियम लागु भइरहेको छ। यो नियम फेब्रुअरी १४ सम्म कायम रहनेछ। नियम कडाईका हिसाबले लेभल २.५ दोश्रो कडा सामाजिक दूरी कायम गर्नुपर्नेमा पर्दछ। यस अवस्थामा पाँच वा सोभन्दा ब्यक्ती भेला हुन मनाही गरिएको छ।

अर्को महिनाबाट सुरु हुने कोरोना खोप अभियान तथा स्प्रिङ सिजनको स्कुल तथा कलेज मार्चबाट सन्चालन गराउने उदेश्यले भाइरस नफैलियोस भनि सरकारले गरिरहेको कडाइलाई त्यहाँका साना तथा मझौला व्यवसायीहरुले तिब्र बिरोध गरिरहेका छन्। भाइरस महामारीका कारण उनिहरुको व्यापार ब्यवसाय चौपट भइरहेको र सरकारले कडाई जारी राखेकोमा उनिहरु असन्तुष्ट रहेका छन्।

कोरियामा बुधबार ६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सँगै मृतकको कुल संख्या १४४१ पुगेको छ। मृतुदर कुल संक्रमितको १.८२ प्रतिशत हो। कोरोना भाइरसबाट सिरियस भएका बिरामीको संख्या २२० पुगेको छ। अघिल्लो दिन यो संख्या २२४ थियो। त्यसैगरी निको भइ क्वारेन्टिनबाट फर्कनेको संख्या ६९ हजार २९९ पुगेको छ। बुधबार ५२४ जना निको भएका छन्। कोरियाले जनवरी ३ सन २०२० पछि ५७ लाख ५६ हजार ७१४ जनाको कोरोना टेष्ट गरेको छ। कोरियामा कोरोनाको पहिलो संक्रमण पुष्टि सन् २०२० को जनवरी २० मा भएको थियो।

प्रतिकृया दिनुहोस्