Monday, September 26

कोरियामा पहिलो पटक दैनिक संक्रमित २ लाख माथि, हेरौं कति थपिए आज

March 2, 2022 308

केहि दिन यता दक्षिण कोरियामा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ। बुधबार कोरियाको दैनिक संक्रमित संख्या पहिलो पटक २ लाख नाघेको छ। एकदमै द्रूत गतिमा फैलन सक्ने कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टका कारण कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको बताइएको छ।

हिजै मात्र दक्षिण कोरियाली सरकारले खोप पास को सिस्टम हटाएको थियो। यसका लागि आवश्यक पर्ने जनशक्ति अपुग भएको भन्दै यो सिस्टम अस्थायी रुपमा हटाइएको कोरियाको सरकारले जानकारी दिएको छ।

बुधबार दक्षिण कोरियामा २ लाख १९ हजार २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २ लाख १९ हजार १ सय ७३ जना स्थानिय संक्रमित हुन भने बाँकी विदेशबाट कोरिया प्रवेश गरेकाहरुमा देखिएको संक्रमण हो। बुधबारको २ लाख १९ हजार २ सय ४१ जना सहित अहिले सम्म यहाँको कुल संक्रमित संख्या ३४ लाख ९२ हजार ६ सय ८६ पुगेको कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ‘केडिसिए’ ले जानकारी दिएको छ।

मध्य फेब्रुअरीबाट दक्षिण कोरियामा दैनिक संक्रमितहरुको संख्या १ लाख माथि देखिन थालेको थियो। कोरोना संक्रमणका कारण सिकिस्त बिरामीहरुको संख्या अघिल्लो दिनको तुलनामा केहि बढेको छ। मंगलबार यस्तो संख्या ७ सय २७ रहेकोमा बुधबार यो संख्यामा केहि बृध्दि भइ ७ सय ६२ पुगेको छ।

कोरियाका स्वास्थ जानकारहरुका अनुसार मार्चको मध्यतिर यहाँ दैनिक संक्रमित संख्या २ लाख ५० हजार सम्म पुग्ने अनुमान रहेको छ। यो नै यस पटकको उच्च बिन्दु हुन सक्ने उनिहरुको आँकलन रहेको छ। बुधबार सउल क्षेत्रमा ४६ हजार ९ सय ३२ जनामा संक्रमण देखिएको छ। त्यसैगरी ख्यङ्गिदो प्रदेशमा  ६८ हजार ६ सय २२ तथा इन्छन क्षेत्रमा १२ हजार १ सय ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्