Saturday, May 21

कोरियामा ख्यङसान क्षेत्रमा विहानैदेखि फैलियो डँढेलो, आगो निभाउन ३४ वटा हेलिकप्टर परिचालन

March 4, 2022 507

दक्षिण कोरियाको ख्यङसान बोक्दो प्रदेशको उलजिन क्षेत्रमा आज विहानै देखि डँढेलो लागेको छ। जङ्गलमा लागेको आगो एकदमै तिब्र गतिमा चलेको हावाका कारण नियन्त्रणमा आउन नसकिरहेको स्थानिय सन्चार माध्यमहरुले जनाएका छन।

कोरिया फरेस्ट सर्भिसले दिएको जानकारी अनुसार ख्यङसान बोक्दो प्रदेशको उलजिन क्षेत्रको जङ्गलमा आज स्थानिय समय अनुसार विहान ११ बजेर १७ मिनेटबाट आगलागी सुरु भएको थियो। समुन्द्री सतहबाट २ सय मिटरको उचाइमा रहेको यस क्षेत्रको बनमा लागेको आगो फैलदै नजिकैको बाटो सम्म पुगेको छ।

कोरियाको फायर डिपार्टमेण्टले आज दिउँसो १ बजेर ५० मिनेटमा नेशनल फायर सर्भिस मोबिलाइजेशन अर्डर नम्मर १ लागु गरिसकेको छ। यो अर्डरपछि यस क्षेत्रमा पर्याप्त जनशक्ति नभएको अवस्थामा नजिकैका अन्य क्षेत्रबाट आगो नियन्त्रणका लागि जनशक्ति तथा उपकरणहरु ल्याइनेछ।

जङ्गलमा लागेको आगो निभाउनका लागि अहिले ३४ वटा हेलिकप्टर तथा ६ सय ८० जना अग्नि नियन्त्रक खटिएका छन। यसका अतिरिक्त अहिले उक्त जङ्गली आगो हानुल न्युक्लियर पावर प्लान्ट नजिकै पुगेकाले थप खतरा बढेको बताइएको छ। न्युक्लियर पावर प्लान्ट हेडक्वाटरको अनुरोधमा अहिले ठूलो क्षमताका मल्टिपल रकेट लन्चर सिस्टम उलसान ११९ केमिकल रेस्क्यु सेन्टरबाट त्यस क्षेत्रमा परिचालन भइसकेका छन।

अहिले उलजिन क्षेत्रको स्थानिय सरकारले आगलागी भएको जङ्गलबाट नजिकका क्षेत्रमा रहेका ६ सय ५० घरलाई त्यस क्षेत्रबाट हटाएको छ। दुछन रि, साङसाङ रि, हादाङ री, साग्ये री तथा सोगोक री क्षेत्रका स्थानिय वासिन्दाहरुलाई अन्यत्र लगेर गाउँ हल तथा विध्यालयहरुमा राखिएको छ। अहिले हानुल न्युक्लियर पावर प्लान्टमा आगलागीबाट क्षति नहोस भनेर आगो नियन्त्रणका लागि ठूलो जनशक्ति परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस्