Monday, September 26

२ नम्मरले कोरिया जान नपाएपछि बाख्रा पालन, नेपालमै कोरियाको जतिकै कमाई

March 6, 2022 965

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका संजिव ढुङ्गेल २० वर्षका मात्रै भए । तर उनले शुरु गरेको कृषि फर्मले उनले अहिले नै महीनाको एक लाख रुपैयाँ भन्दा बढी कमाई गरिरहेका छन् । १२ कक्षा उतीर्ण भएपछि कोही साथीहरू कमाउनको लागि त कोही उच्च शिक्षाको लागि विदेशिएका थिए । तर उनी भने ६ लाख रुपैयाँ लिएर बाख्रा पालनमा लागे । जम्मा ६ लाख रुपैयाँ लगानीमा शुरु गरेको कृर्षि फार्मबाट अहिले मासिक १ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेको ढुङ्गेलले बताए । संजिवले १५ ओटा बाख्राबाट शुरु गरेको व्यवसायमा २ वर्षमै ४२ लाख बढी लगानी गरिसकेका छन् । काठमाडौंको पद्मोवदय कलेजबाट व्यवस्थापन संकायमा १२ कक्षा उतीर्ण गरेपछि रामेछापमा गएर संजीवनी कृर्षि फार्म शुरु गरेका उनले बाख्रा, कुखुरा, टर्की र माछा लगायत पालन गरिरहेका छन्।

साथीहरू धमाधम विदेशिदा उनलाई पनि एक पटक विदेशिने रहर नलागेको होइन । कोरियन भाषा परीक्षा समेत दिएका उनी २ नम्बर नपुगेर अनुतीर्ण भए । त्यसपछि स्वदेशमै केही गर्छु भनेर लागेका उनले कोरियाको कमाई नेपालमै गरिरहेको बताए । स्वदेशमै केही गर्छु भन्ने आँट भएका युवालाई देशमै अवसर रहेको उनले पुष्टी गरेका छन् । हाल उक्त फाममा खरी र बयर प्रजातीका करीब १२० ओटा खसी र बाख्राहरु छन् । ‘शुरुमा १५ ओटा घरकै बाख्राबाट फार्म शुरु गरेको थिए । पछि विस्तारै अरु बाख्रा थपें।‘ उनले आर्थिक अभियानलाई भने,‘खोर मा पहिले खरी प्रजातिको बाख्रा मात्रै थियो, पछि बयर प्रजातीको बोको ल्याएर यहीं क्रस गरि पाठा उत्पादन गरिरहेको छु ।

‘ उनको फार्ममा अहिले कमनकार्प प्रजातिको माछा र लोकल कुखुरा पनि छन् । ‘माछा पालन एकदमै सजिलो अनि फाइदा पनि हुने व्यावसाय भएको उनको बुझाई छ । बाख्रा, कुखुरालाई जस्तो धेरै स्याहार माछालाई चाहिंदैन , पानीमा अलिक ध्यान दिए पुग्छ,’उनले भने ।उनको यो व्यवसायमा गाउँपालिकाले पनि ६ लाख रुपैयाँ अनुदान दिएको छ । गाउँपालिकाले पशुपालनमा आवद्ध भएको भन्दै अनुदान दिएको उनले बताए । फार्मबाट उत्पादित खसी काठमाडौँ लगायत अन्य जिल्लाहरूमा पठाउने गरेको उनले बताए । ग्रहकहरू आफै फार्ममा पुगेर छानेरै खसी, बोका र कुखुरा किन्ने गरेको पनि उनको भनाई छ । लोकल जिउँदो खसी प्रतिकिलो ६५० रुपैयाँ, माछा जिउँदो प्रतिकिलो ५०० रुपैयाँ र टर्की प्रतिकिलो १ हजार रुपैयाँमा बेच्ने गरेको उनले बताए । आधुनिक खोर बनाइएको संजीवनी फार्म सञ्चालनमा अहिले उनका परिवारका सदस्य समेत सहयोग गर्ने गरेका छन्।

ढुङ्गेलले फाममा ३ जनालाई रोजगारी पनि दिएका छन् । उनका बुबा राजनीतिमा र आमा स्वयमसेवीका हुन । तर संजिव भने व्यवसायिक कृषिमा लागेका छन् । विदेश जाने सपना पनि नदेखेका होईनन् उनले । विदेशमा भएका साथीभाईसँग सोधपुछ पनि गरे । उनीहरुले विदेशमा धेरै दुःख भएकोले नेपालमै केहि गर भन्ने सल्लाह दिएपछि विदेश जाने सपना त्यागेर गाउँमै केही गर्ने सोच बनेको उनले बताए । सानैदेखि बाख्रा, कुखुर पाल्नमा निकै रमाईलो लाग्थ्यो उनलाई । त्यही कारण बाख्रा फार्म नै खोल्ने योजनामा पुगेको उनको भनाई छ । परिवारमा सबैले उनको निर्णयलाई राम्रो भन्दै साथ दिएपछि गाउँमा बाँझै रहेको ८० रोपनी जमीनमा फार्म खोल्ने र नयाँ तरिकाबाट पशुपालन गर्ने योजना सफल भएको थियो । ‘वैज्ञानिक ढंगले व्यावसाय गर्न सकियो भने त्यसले राम्रो प्रतिफल दिन्छ भन्नेमा म विश्वस्त थिएँ ।’ उनी भन्छन्, ‘जानकारीमा भएका अन्य फार्मको भ्रमण गरेर यो व्यवसायको वारेमा अध्ययन शुरु गरे ।’ त्यहाँको वातावरण र व्यवस्थापन नियाले।

केहि प्राविधिक ज्ञान भए बाख्रापालन अन्य व्यवसाय भन्दा सजिलो भएको ढुङ्गेलको अनुभव छ । ‘हामीले बाख्रा कुखुरा त पाल्छौ नै तर व्यवस्थित तवरले पाल्दैनौ । सबै कुरा बुझेर गर्न सकियो भने बाख्रा पाल्न एकदमै सजिलो छ ।’ उनले भने । उनले बाख्रा पाल्न चाहने कृषकलाई बयर जातकै बाख्रा पाल्न सुझाव समेत दिने गरेका छन् । हेर्दा पनि राम्रो र खँदीलो हुने यो जातिका बाख्रा खैरो र सेतो रंगको हुन्छ । यो बाख्रासँग अन्य जातिका बाख्राको तुलनामा रोग प्रतिरोधक क्षमता पनि बढी हुने गरेको ढुङ्गेलले बताए । यो प्रजातिको बाख्राको रोचक पक्ष भनेको ५० दिनमै ३५ देखि ४० केजी सम्म वजन बढ्ने गरेको उनको भनाई छ । उनको फार्ममा अहिले लगभग सबै बाख्रा बयर जातकै छन् । बयर जातिको एउटा बोका मात्रै ३ देखि ४ लाख रुपैयाँ सम्ममा विक्री हुने गरेको छ । ८० रोपनी जग्गामा फैलिएको फार्ममा घाँस खेती पनि गरेका छन् । अहिले उनको फार्ममा सुपर नेपियर, मकैचरी, सीओ-३, ईपीली लगायत प्रजातिका घाँसहरू छन् । यी घासँहरू वर्षमा ८,९ पटकसम्म काट्न मिल्ने भएकाले पनि बाख्रालाई सजिलै घासँको मात्रा पुग्ने उनले बताए । (प्रतिक्षा कडेल, यो सामाग्री अभियान डेलीमा प्रकाशित छ।)

प्रतिकृया दिनुहोस्