Tuesday, September 28

विद्यार्थी भिसामा बसेर क्रिस्चियन धर्म प्रचार गर्ने आठ कोरियनलाई निष्कासन गरिँदै

February 4, 2021 1762

काठमाडौं । विद्यार्थी भिसामा नेपालमा बसेर धर्म प्रचारमा लागेको अभियोगमा आठजना दक्षिण कोरियन नागरिकलाई गृह मन्त्रालयले निष्कासनको तयारी गरेको छ । अध्यागमन विभागले उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएर निष्कासनको निर्णयका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
निष्कासन गर्न लागिएकाहरूमा दुई जोडी दम्पती र उनीहरूका चार बालबालिका छन् । अनुसन्धानका क्रममा उनीहरू अध्यागमन नियम मिचेर क्रिस्चियन धर्म प्रचारमा आबद्ध भएको पुष्टि भएपछि निष्कासनको प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक रमेशकुमार केसीले बताए । 
निष्कासन गर्न लागिएकाहरूमा गोक सी गुन, उनकी पत्नी सिक क्वाङ जिन र उनीहरूका तीन सन्तान छन् । त्यस्तै, सिओ हायोङ्गो, उनकी पत्नी हेइसिन र उनीहरूका एक सन्तान छन् । सन् २०१८ को अगस्टदेखि उनीहरू नेपालमा बस्दै आएका थिए । 
सुरुमा उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए । आफ्ना सन्तानलाई ललितपुरको आइडियल मोडल स्कुलमा भर्ना गराएर विद्यार्थी भिसा लिएका थिए । कुनै विदेशीले विद्यार्थी भिसा लिएपछि उनीहरूका परिवारले आश्रित भिसा पाउँछन् । आश्रित भिसाकै लागि उनीहरूले छोराछोरीलाई भर्ना गरेका थिए ।
पर्यटक भिसामा बस्दा एक वर्षमा बढीमा पाँच महिना मात्र नेपालमा बस्न पाइन्छ । विद्यार्थी तथा आश्रित भिसामा जति पनि बस्न पाइने भएकाले उनीहरूले भिसाको दुरुपयोग गरेको विभागका अधिकारी बताउँछन् । नेपाली भाषासमेत बोल्न सक्ने उनीहरू ललितपुरको धोबिघाटस्थित मातृभाषा अनुवादक समाजमा काम गर्दथे । सो संस्थामार्फत उनीहरूले बाइबललाई सबै नेपाली मातृभाषामा अनुवाद गर्ने काम गरिरहेको विभागको दाबी छ । ‘सन् २०२५ सम्म सबै नेपाली मातृभाषामा बाइबल अनुवाद गर्ने र वितरण गर्ने उनीहरूको योजना रहेछ,’ अनुसन्धानमा आबद्ध अध्यागमन विभागका एकजना अधिकारीले भने । अनुवाद गरिएका बाइबल हरेक जिल्लाका चर्चमार्फत वितरणसमेत थालिएको थियो । 
उनीहरूको चालचलनसम्बन्धी शंका लागेर विभागले छानबिन थालेको थियो । छानबिनको क्रममा धर्म प्रचारकै लागि उनीहरू नेपालमा बस्दै आएको निष्कर्षसहित निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ । 

समाज कल्याण परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईका अनुसार कुनै पनि संघसंस्थाले धर्म प्रचारका लागि विदेशबाट अनुदान लिन पाउँदैनन् ।  नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्