Friday, June 25

विदेशी कामदारको वासस्थान सुधार्नुपर्ने निर्देशनप्रति कोरियाली कम्पनीका साहूहरुको आपत्ति

February 4, 2021 717

दक्षिण कोरियामा केहि समय अघि कृषि क्षेत्रमा काम गर्ने एक कम्बोडियन कामदारको बस्ने बासस्थान नाजुक भएका कारण मृत्यु भएपछि त्यहाँको सरकारले कामदारहरु बस्ने बासस्थान सुधार्न नयाँ निर्देशन दिएको थियो। सरकारबाट सुधारका लागि कडा नियम लागू भएपछि कोरियाका कृषि फार्म सन्चालक किसानहरु आन्दोलित भएका छन्। बासस्थान सुधारमा बढि खर्च लाग्ने हुँदा उनिहरुले सरकारको बिरोध गर्दै सहयोगका लागि समेत आग्रह गरेका छन्।
मंगलबार श्रम तथा रोजगार मन्त्रालयको भवन नजिकै भएको पत्रकार सम्बेलनमा कोरिया आधुनिक किसान संघले विदेशी कामदारको बासस्थानसम्बन्धि नयाँ निर्देशन फिर्ता लिन माग गर्यो। “कृषि क्षेत्रमा अहिले जटिलता बढेको छ, सरकारले पर्याप्त सहयोग नदिई, समय पनि नदिइ तुरुन्तै बासस्थान सुधारका लागि दिएको निर्देशन गलत छ।” किसान संघले पत्रकाल सम्बेलनमा भनेको छ। यस्तो नियमले विदेशी कामदार राख्न मुश्किल हुने तथा समग्र कृषि उत्पादनमै नकारात्मक असर पर्ने उक्त संघले भनेको छ।
गत डिसेम्बरमा कोरियाको श्रम मन्त्रालयले जनवरी १ देखि उपयुक्त सुविधासम्पन्न बासस्थान नभएमा कुनै पनि कृषि क्षेत्रका कम्पनीहरुलाई कामदार नदिने घोषणा गरेको थियो। नाजुक वासस्थानका कारण एक कम्बोडियन कामदारको मृत्यु भएपछि मन्त्रालयले यस्तो निर्णय गरेको थियो। पोछनको एक कृषि फार्ममा काम गर्ने ३१ बर्षिया महिलाले त्यहाँ एक प्लाष्टिकको ग्रिनहाउसमा ज्यान गुमाएकी थिइन्। अत्याधिक चिसो भइ तापक्रम माइनस १८ डिग्री सेल्सियसमा झरेपछि उनको निधन भएको थियो।
मृतकको प्रारम्भिक पोष्टमार्टमले उनको कलेजोमा गम्भिर असर परेको देखिएको थियो। तर नागरिक समूहहरुले घटनालाई गम्भिर रुपमा लिइ छानबिन गर्न माग गर्दै अब भविष्यमा यस्ता नदोहोरिन वासस्थान सुधारको माग गरेका थिए। दक्षिण कोरियाका कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने अधिकांश विदेशी कामदार साहूले उपलब्ध गराएको वासस्थानमा बस्ने गरेका छन्। श्रम मन्त्रालयले अवदेखि साहूहरुलाई बिदेशी कामदार राख्ने बासस्थानको पनि सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले विदेशी कामदार बस्ने बासस्थानको सुक्ष्म निगरानी गर्दै न्युनतम मापदण्ड पूरा नगरेका कम्पनीहरुलाई विदेशी कामदार राख्ने अनुमतिसमेत नदिने भनेको छ।
न्युनतम सुविधासमेत नभएका प्लाष्टिक घरहरुमा बसिरहेका विदेशी कामदारहरुलाई तुरुन्तै काम गर्ने कम्पनी परिवर्तन गर्न अनुमति दिन समेत मन्त्रालयले भनेको छ। साना कृषि तथा पशुपालन कम्पनीहरुले विदेशी कामदार पाउन नै मुश्किल हुने गरेको छ। श्रम तथा रोजगार मन्त्रालयका अनुसार ४९६ वटा कृषि तथा पशुपालन र माछापालन कम्पनीमा काम गरिरहेका ३८५० विदेशी कामदारहरु बस्ने बासस्थानमा न्युनतम सुबिधा समेत छैन। त्यसमध्ये करिब ७० प्रतिशत कामदार टहराहरुमा बस्ने गरेका छन्। मात्र २५ प्रतिशत घरमा बसेका छन्।

बासस्थानको समस्या भोगिरहेका विदेशी कामदारहरुलाई नजिकैको सरकारी कार्यालयहरुमा रिपोर्ट गर्न भनिएको छ। तर ५६.५ प्रतिशतले सुविधा नभएपनि रिपोर्ट गर्ने नगरेको पाइएको छ। कोरियाका श्रम मन्त्री लि जेकापले भनेका छन् “कृषि तथा माछापालन क्षेत्रमा विदेशी कामदार नभइ हुँदैन। त्यसकारण उनिहरुको बस्ने ठाउँमा न्युनतम सुविधा हुन आवश्यक छ।” तर स्थानिय रोजगारदाताले श्रम मन्त्रीको भनाइको बिरोध गरेका छन्। पर्याप्त समय र पैसाको अभावमा सुविधा सम्पन्न बासस्थान बनाउन गाह्रो हुने उनिहरुको भनाई रहेको छ।

प्रतिकृया दिनुहोस्