Thursday, June 24

कोरियामा शनिवार थपिए ३९३ नयाँ संक्रमित, सउल बाहिर सामाजिक दूरीका नियम खुकुलो पारिदै

February 6, 2021 513

दक्षिण कोरियामा नयाँ दैनिक कोरोना भाइरस संक्रमितको संख्या लगातार दोश्रो दिन पनि ४०० मुनि रहन सकेको छ। शनिवार ३९३ जना संक्रमित थपिएका छन्।  शुक्रबार यो संख्या ३७० रहेको थियो। कोरियाको सरकारले सउल बाहिरका क्षेत्रमा व्यापार व्यवसाय सन्चालन गर्नका लागि सामाजिक दूरीका नियमहरुमा केहि लचकता अपनाउने भएको छ।

कोरियामा गत २४ घण्टामा ३९३ जना नयाँ संक्रमित थपिएका छन् जसमा ३६६ जना स्थानिय संक्रमित हुन भने बाँकी विदेश बाट आउनेहरुमा भएको संक्रमण हो। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो संगै दक्षिण कोरियामा कुल संक्रमित हुनेको संख्या ८० हजार ५२४ पुगेको छ। शनिवारको संख्या अघिल्लो दिनको भन्दा थोरै बढि हो। शुक्रबार कोरियामा ३७० जना कोरोना संक्रमित थपिएका थिए। तर यो संख्या बिहिबारको भन्दा कम हो। बिहिवार संक्रमितको संख्या ४५१ रहेको थियो। आजसम्म कोरियामा कोरोनाबाट १ हजार ४६४ जनाले ज्यान गुमाइसकेका छन्।

कोरियाको दक्षिण पश्चिम क्षेत्रमा अबैधानिक रुपमा क्रिश्चियन मिशनरी ग्रुपले चलाएका स्कुलहरुमा सामूहिक संक्रमण पुष्टि भएपछि हिजो आज कोरियामा दैनिक ३०० देखि ४०० को हाराहारीमा संक्रमितहरु थपिएका हुन। यहि विहिबार देखि शनिवार सम्म कोरियामा हुने नयाँ बर्षको लामो बिदामा संक्रमण फैलन सक्ने चिन्ता अहिले बढेको छ। नयाँ बर्षको बिदामा मानिसहरुको बाक्लोआवतजावत हुने तथा पारिवारीक जमघट हुने हँदा कोरोना संक्रमण फैलने सम्भावना बढि हुने गर्दछ।

लामो बिदामा संक्रमणको जोखिम उच्च भएतापनि कोरियाको सरकारले सउल बाहिरका केहि ब्यवसायलाई राहत दिने भएको छ। सउल बाहिरका रेष्टुरेन्ट तथा फिटनेश क्लबहरुलाई बेलुकी १ घन्टा बढि खुल्न दिने भएको छ। यसअघि बेलुका ९ बजेसम्म मात्र सन्चालन हुन पाउने यस्ता ब्यवसायहरु अब राति १० बजेसम्म सन्चालन हुन पाउनेछन्।

राजधानी सउल र त्यस वरपरका क्षेत्रमा भने सामाजिक दूरीको २.५ लेभल नै लागू हुने छ। यो लेभल भनेको कठिनाइका आधारमा ५ लेभलहरु मध्ये दोश्रो कठिन हो। यो लेभलअनुसार सबै व्यापार व्यवसाय रातको ९ बजेसम्म मात्र सन्चालन हुन पाउनेछन्। कोरियाका संक्रमित संख्या ७० प्रतिशत भन्दा बढि सउल क्षेत्रबाट पुष्टि हुने गरेकाले यो क्षेत्रलाई सरकारले कडाई जारी राखेको हो। यो क्षेत्रमा फेब्रुअरी १४ सम्म ५ वा सो भन्दा बढि मानिसहरुको जमघटमा रोक लगाइएको छ।

प्रतिकृया दिनुहोस्