यदि स्वास्थ मन्त्रालयबाट बुढापाकाहरुलाई एस्ट्राजेनेका कम्पनीको खोप लगाउन यो हप्ता अनुमति पाएको खण्डमा दक्षिण कोरियाले यहि फेब्रुअरी २६ तारिखबाट कोरोना भाइरस बिरुध्दको खोप सुरु गर्ने भएको छ। स्वास्थ्य अधिकारीहरुले बताए अनुसार फेब्रुअरी २६ बाट खोप कार्यक्रम सुरु हुने सम्भावना अधिक रहेको छ।
आज दैनिक कोरोना संक्रमितको संख्या केहि बढेको अवस्थामा कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले खोप कार्यक्रम सुरुवात गर्ने मिती सार्वजनिक गरेको हो। कोरियाको नयाँ बर्ष सुरु हुनै लाग्दा भाइरस फैलिने हो कि भनेर सरकार चनाखो भएर हेरिरहेको छ। यो नै कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सिले खोप कार्यक्रम सुरु गर्ने मिति तोकेको पहिलो पटक हो। मिती सार्वजनिक भएसँगै कोरियाले बर्ष दिन लामो जारी कोरोना भाइरससँगको लडाँइ जित्न सक्ने आशा राखेको छ।
एष्ट्राजेनेका कम्पनीले फेब्रुअरी २४ मा दक्षिण कोरियालाई पहिलो लटको कोरोना खोप डेलिभर गर्दैछ। यि खोपहरु फेब्रुअरी २५ मा देशभरका अस्पतालहरु र मेडिकल सेवा दिने ठाउँहरुमा पुर्याइनेछ। फेब्रुअरी २६ बाट खोप लगाउने कार्यक्रमको सुरुवात गरिने कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सिले बताएको छ।
खोप पाउने सबैभन्दा पहिलो प्राथमिकतामा यहाँ कार्यरत सम्पूर्ण स्वास्थकर्मीहरु तथा नर्सिङ होममा रहेका बुढापाकाहरु रहेका छन जसलाई कोरोना जोखिम उच्च रहेको छ। उनिहरुले खोपको पहिलो डोज पाउनेछन्। कोरियाले यहि बर्षको नोभेम्बरसम्ममा देशभरका सबै ५ करोड २० लाखजनालाई खोप लगाइसक्ने महत्वाकाँक्षी लक्ष्य राखेको छ।
आज कोरियामा थप ३०३ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै कोरियामा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ४८७ पुगेको छ। हिजो नयाँ संक्रमित संख्या मात्र २८९ थियो। यो संख्या गत नोभेम्बर २३ पछिकै सबैभन्दा कम थियो। गत नोभेम्बरबाट कोरियामा कोरोना संक्रमणको तश्रो लहर सुरु भएको थियो। त्यस यता दैनिक संक्रमित संख्या बढ्न थालेको थियो। आज कोरियामा ८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। कुल ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८२ पुगेको छ।
गत महिनाबाट दैनिक संक्रमित संख्या ३०० देखि ४०० को हाराहारीमा थियो। क्रिश्चियन मिशनरी ग्रुपले सन्चालन गरेका अबैधानिक स्कुलहरुमा सामूहिक संक्रमण पुष्टि भएपछि कोरियामा संक्रमितको संख्या बढेको थियो। खासगरि कोरियाको दक्षिण पश्चित तथा मध्य क्षेत्रमा यस्ता स्कुलहरु सन्चालनमा छन्।
गत डिसेम्बर २५ मा तेश्रो लहरको सबैभन्दा धेरै एकैदिन १ हजार २ सय ४१ जनामा कोरोना पुष्टि भएपछि त्यसपछिका दिनमा संक्रमण घट्दै गएको थियो। कोरियाले अहिले रेष्टुरेन्टहरुलाई राति ९ बजेपछि सन्चालनमा रोक लगाएको छ। राजधानी सउल र त्यससँग जोडिएका सहरहरुमा सामाजिक दूरीको लेभल २.५ लागू गरिएको छ भने त्यस बाहिरका क्षेत्रमा लेभल २ लागु छ। नियमहरु कडाइ गरिएको भनि कोरियाका साना तथा मझौला ब्यवसायीहरुले तिब्र बिरोध गरिरहेका छन्।
प्रतिकृया दिनुहोस्