Tuesday, September 28

खुल्यो आजबाट महिला लघुवित्तको आइपिओ, इपिएस करिब ५९ रुपैयाँ

February 12, 2021 721

आज अर्थात माघ २८ गतेबाट एउटा नयाँ कम्पनीको आइपिओ खुलेेेको छ। आजबाट महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले आइपिओ निष्काशन गर्न लागेको हो। लघुवित्तले आफ्नो जारी पूँजीको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न लागेको हो।
प्राथमिक निष्काशन गर्न लागिएको ४ लाख कित्ता सेयरमध्ये ०.५ प्रतिशतले हुन आउने ५ हजार कित्ता सेयर यसै संस्थाका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ३ लाख ७५ हजार कित्ता सेयर भने सर्बसाधारणका लागि खुला गरिनेछ।

यो आइपिओमा फागुन ६ गतेसम्म आवेदन गर्न सकिनेछ भने फागुन ६ गतेसम्म सबै नबिकेमा फागुन १२ गतेसम्म आवेदन मिती लम्बाइनेछ। तर लघुवित्तको आइपिओ नबिक्ने सम्भावना एकदमै न्युन हुने हुँदा फागुन ६ गते नै आवेदन दिने अन्तिम दिन हुनेछ।

यस लघुवित्तको आइपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्। तर अत्याधिक आवेदन पर्ने लगभग पक्का जस्तै भएकाले १० कित्ताका लागि आवेदन गर्नु नै बुध्दिमानी हुनेछ। यस आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

महिला लघुवित्तको आइपिओलाई रेटिङ गर्ने संस्था इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी’ प्रदान गरेको छ जसले बित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर वेवसाईट तथा एप्सको प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा रहेको यस लघुवित्तले चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा यस्तो आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्ष ३१३ रुपैयाँ १६ पैसा रहेको छ भने चालु आर्थिक वर्षमा २९४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

प्रतिकृया दिनुहोस्