Friday, June 25

उत्तर कोरियाद्वारा कोरोना भ्याक्सिन बनाउने अमेरिकी कम्पनी फिजरको डाटा ह्याक गरी चोर्ने प्रयास

February 17, 2021 355

उत्तर कोरियाले हालै कोरोना भाइरसको सफल खोप उत्पादन गरिरहेको अमेरिकन कम्पनी फिजरको सर्भरमा साइबर हमला गरेको छ। कम्पनीको सर्भर ह्याक गरि खोप बनाउने जानकारीका साथै अन्य थुप्रै जानकारीहरु चोर्ने प्रयास गरेको दक्षिण कोरियाको इन्टेलिजेन्स ब्यूरोले बताएको छ।

केहि समय पहिला उत्तर कोरियाका प्रमुख किम जोङ उनले कोरोना भाइरसले आफ्नो देशलाई नछोएको प्रतिक्रिया दिएका थिए। उत्तर कोरियाको यो प्रयासका बारेमा दक्षिणको राष्ट्रिय सभाको इन्टेलिजेन्स कमिटिमा छलफल भएको थियो। राष्ट्रिय सभाका एक सदस्यले भनेका छन् -‘उत्तर कोरियाले साईबर हमला गरि फिजर कम्पनीले बनाइरहेको खोपको सम्पूर्ण जानकारी तथा डाटाहरु चोर्न खोजिएको थियो।’ उत्तर कोरियाले गत बर्षको तुलनामा यो बर्ष साइबर हमलाको प्रयास ३२ प्रतिशतले बढाएको छ।

उत्तर कोरियाले कहिले फिजरको सर्भर ह्याक गर्यो अथवा ह्याक गरि डाटा चोर्न सफल भयो भएन अझै स्पष्ट छैन। फिजरका प्रतिनिधीले पनि यस बिषयमा अनुसन्धान भइरहेको र अहिले नै भन्न नसकिने बताएका छन्। अमेरिकन कम्पनी फिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेक मिलेर बनाएको यो खोप सफल भइ अहिले विश्व स्वास्थ संगठनले समेत आकश्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ।

दक्षिण कोरियाली इन्टेलिजेन्स ब्यूरोले जारी गरेको बक्तब्यमा भनिएको छ कि अहिले उत्तर कोरयाले विभिन्न देशमा ह्याकिङ गरि महत्वपूर्ण र गोप्य जानकारीहरु चोर्ने गरेका र उनिहरुको साइबर क्षमता पनि बृध्दि हुँदै गइरहेको तर्फ चिन्ता ब्यक्त गरेका छन्।

गत नोभेम्बरमा अमेरिकन कम्पनी माइक्रोसफ्टले पनि उत्तर कोरिया र केहि रसियन ह्याकरहरुले ‌औषधी बनाउने कम्पनीहरुका खोप सम्बन्धि जानकारी तथा महत्वपूर्ण डाटाहरु ह्याकिङ गरि चोरी गर्ने प्रयास गरेका थिए। त्यस्ता प्रयासहरु सबै असफल भएका थिए।

प्रतिकृया दिनुहोस्