Monday, June 21

आइपिओको लस्कर, १२ कम्पनीको आउँदै, हेरौं कुन कुन कम्पनीको आउदैछ

February 20, 2021 1033

केहि समय यता नेपालमा सेयर बजारले चर्चा पाइरहेको छ। सेयर बजार मापन गर्ने सूचक नेप्से इन्डेक्स इतिहासकै सबैभन्दा धेरै विन्दुमा पुगेसँगै यसको चर्चा चुलिएको हो। अहिले शहर, बजार, गाउँ, टोल जहाँ कहिँ सेयरकै बिषयमा चर्चा हुने गरेको पाईएकव छ। दिनानु दिन डि म्याट खाता खोल्नेहरुको संख्या बढिरहेको छ। खासगरी प्राथमिक सेयर अर्थात आइपिओमा लगानि गर्ने लगानीकर्ताहरु ह्वात्तै बढेका छन्।

थोरै रकम लगानी गर्दा हुने तथा अनलाइनबाट सजिलै भर्न सकिने भएकाले अहिले आइपिओमा लगानीकर्ताहरु झुम्मिने गरेका छन्। दोश्रो बजारभन्दा जोखिम पनि कम हुने भएकाले पनि आइपिओमा सबैको आकर्षण बढेको हो। आजकाल विशेष गरि नयाँ लगानीकर्ताहरुमा अब कुन कम्पनीले साधारण निष्काशन अर्थात आइपिओ निकाल्दै छ भन्ने कुराको उत्सुकता अधिक रहेको पाइन्छ। अहिले आइपिओ निष्काशनको तयारीमा १२ वटा कम्पनीहरु जुटेका छन्। उनिहरु धितोपत्र बोर्डबाट निष्काशन अनुमति लिन पाइपलाईनमा रहेका छन्।

आइपिओ निष्काशनका लागि पाइपलाईनमा रहेका कम्पनीहरु

साहस उर्जा कम्पनी लिमिटेड

सोलुखुम्बु जिल्लामा ८६ मेगावाटको जलबिध्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु तथा सर्बसाधारणका लागि आइपिओ निष्काशन गर्नका लागि अनुमति माग्दै गत मंसिर २४ गते नै धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ। साहस उर्जाले १०० रुपैयाँ अंकित दरका १ अर्ब ५ करोड रुपैया बराबरको १ करोड ५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। यस कम्पनीको साधारण सेयर निष्काशन गर्न बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्पापिटलले गर्नेछ।

ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैया बराबरको ६६ लाख कित्ता सेयर आइपिओ निष्काशनका लागि ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २४ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ हुने र यसमध्ये १ अर्ब ५४ करोड रुपैयाँ संस्थापक सेयर लगानी हुनेछ। ६६ करोड रुपैयाँ सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको हो।  यस कम्पनीको आइपिओ निष्काशनका लागि बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरिरहेको छ।

बुध्दमुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि आइपिओ निष्काशनको तयारी गरेको छ। कम्पनीले १०० रुपैया अंकित दरमा १२ करोड रुपैया बराबरको १२ लाख कित्ता आइपिओ निष्काशनका लागि माघ ८ गते नै धितोपत्रबोर्डमा निवेदन दिइसकेको छ। यस कम्पनीको सार्बजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरिरहेको छ।

सामलिङ पावर कम्पनी लिमिटेड

इक्रा नेपालबाट ‘एक्रा एनपी बीबी माइनस’ रेटिङ पाएको सामलिङ पावर कम्पनी लिमिटेडले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा माघ ५ गते नै निवेदन दिइसकेको छ। यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा र सर्वसाधारणका लागि १०० रुपैया अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरेको छ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशतले हुन आउने ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति माग गर्दै गत मंसिर १० गते नै धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ भने शेयर प्रत्याभूतकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० रुपैयाँ अंकित दरमा २५ करोड १८ लाख २३ हजार मूल्य बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपिओ निष्काशनका लागि २०७४ साल असार २७ गते नै धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। यस कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरिरहेको छ।

मैलुङ खोला जलबिध्युत कम्पनी लिमिटेड

पहिलो चरणमा आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियलाई आइपिओ निष्काशन गरि बाँडफाड गरिसकेको मैलुङ खोला जलबिध्युत कम्पनी लिमिटेडले अब सर्वसाधारणका लागि प्राथमिक निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने लागेको हो। धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्कासन गर्नेछ। यस कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबर्धनको काम सिध्दार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ।

मध्य भोटेकोशी जलबिध्युत कम्पनी लिमिटेड

चिलिमे जलबिध्युत कम्पनी लिमिटेडको सहायक कम्पनी मध्यभोटेकोशी जलबिध्युत कम्पनी लिमिटेडले १०२ मेगावट क्षमताको विध्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले १०० रुपैया अंकित दरमा १ अर्ब ५० करोड रुपैया बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन तथा बिक्रीका लागि धितोपत्र बोर्डमा माघ ७ गते निवेदन दिएको छ। यस कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले गरिरहेको छ।

डिश मिडिया नेटवर्क लिमिटेड

डिश मिडिया नेटवर्क लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने प्रश्ताव साधारणसभाबाट पारित गरिसकेको छ। कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैया बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता सेयर निष्काशनका लागि असार २९ गते नै धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ। कम्पनीले आफ्नो ब्यापार बिस्तारका लागि पूँजी जोहो गर्न साधारण शेयर जारी गर्न लागेको जनाएको छ। यस कम्पनीको साधारण सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ।

विन्धबासिनी हाइड्रोपावर डेभलेपमेन्ट लिमिटेड

लमजुङ र कास्की जिल्लाको सिमानामा पर्ने रुदी खोला ए र रुदी खोला बी जलबिध्युत आयोजना निर्माण सम्पन्न गरी सन्चालन गरिरहेको विन्धबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले २५ करोड रुपैया बराबरको २५ लाख कित्ता सेयर निष्काशन तथा बिक्रीका लागि २०७६ साल माघ १ गते नै नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। यस कम्पनीले  रुदी खोलामा निर्माण गरेको ८.८ मेगावाट क्षमताको रुदी खोला ए र ६.६ मेगावाट क्षमताको रुदी खोला बी गरी कूल १५.४ मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा छन्।  कम्पनीको साधारण सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सिबिआइएल क्यापिटल लिमिटेड

नेपालको इतिहासमै पहिलो पटक मर्चेण्ट बैंकको आइपिओ निष्काशनको रकर्ड बनाउका लागिरहेको सिबिआइएल क्यापिटलले ३ करोड रुपैया बराबरको ३ लाख कित्ता सेयर बिक्री गर्नका लागि २०७५ सालमै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो। यस कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेडले गरिरहेको छ। सिटिजन्स बैंकको सहायक संस्थाको रुपमा रहेको सिविआइएल क्यापिटलले म्यूचुअल फण्ड, पोर्टफेलियो म्यानेजमेन्ट, अण्डरराइटिङ, धितोपत्र विक्री प्रबन्धक लगायतका सेवा प्रदान गर्दै आइरहेको छ।

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

सन २०१५ बाटै कास्की जिल्लाको मादी नदिमा १२ मेगावाटको विध्युत आयोजना निर्माण गरि सन्चालन गरिरहेको हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैया बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीका लागि २०७६ साल कार्तिक २७ गते नै धितोपत्र बोर्डमा निवेदन दिएको हो।

प्रतिकृया दिनुहोस्