Tuesday, June 22

दक्षिण कोरिया ‘हाइवे युग’ मा प्रवेश गरेको ५० बर्ष

February 24, 2021 994

सन् १९६८ मा कोरियाले कोरियाली भाषामा खोसोकदोरो अर्थात् हाइवे बनाएर एउटा नयाँ युगमा प्रवेश गरेको थियो। यो हाइवेले कोरियाको अर्थतन्त्रलाई उकास्न धेरै ठूलो महत्वपूर्ण योगदान गरेको थियो।

राजधानी सउलबाट अर्को शहर इन्छन पुग्ने एक्सप्रेश हाइवे सन् १९६७ बाट बनाउन थालिएको थियो। त्यस बेलका राष्ट्रपति पार्क छुङ हिको चाहाना भने राजधानी सउलाई दोश्रो ठूलो शहर बुसान जोड्ने इच्छा थियो। जब यो योजना पूरा हुन्थ्यो तब सउलदेखि बुसानसम्मको १२ घण्टा लाग्ने बाटो जम्मा साँढे ४ घण्टामा पूरा हुने थियो।

सउलदेखि बुसानसम्मको हाइवेलाई बिभिन्न खण्डहरुमा विभाजन गरि बनाउन योजना गरिएको थियो। पहिलो खण्डमा सउलदेखि ओसानसम्म, त्यसपछी ओसानबाट छनानसम्म, छनानबाट थेजनसम्म र अन्तिममा सबैभन्दा गाह्रो खण्ड थेगुबाट थेजनसम्म रहेको थियो। यो हाइवेको पहिलो खण्ड पूरा भएपछि त्यस रोडमा गुढ्ने गाडीहरुबाट उठाइएको शुल्कहरु जम्मा गरि अन्य खण्डहरु बनाउने काममा खर्च गरिएको थियो।

यो हाइवे निर्माणको काम सन् १९६८ को फेब्रुअरी १ बाट सुरु भयो। यस आयोजना सम्पन्न गर्न ३० बिलियन कोरियन वन खर्च हुने तथा सन् १९७१ मा काम सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो। यो हाइवेलाई देशले लामो समयदेखि खोजिरहेको महत्वपूर्ण योजनाका रुपमा लिइ एक भब्य कार्यक्रमका बिच काम सुरु गरिएको थियो। त्यस कार्यक्रममा तत्कालिन राष्ट्रपति पार्कले देशको सुगम र दुर्गम क्षेत्रको समानुपातिक विकासमा यस हाइवेले सहयोग गर्ने बताएका थिए।

यो महत्वाकांक्षि योजनका बारेमा त्यस बेला कोरियाली जनताहरुमा मश्रित किसिमको प्रतिक्रियाहरु आएको थियो। कतिले तोकिएको समयमा काम पूरा हुने कुरामा शंका ब्यक्त गरेका थिए भने कतिले काम पूरा हुने कुरामै आसङ्का गरेका थिए। कतिपय भने आफ्ना हाइवे बनाउँदा आफ्ना पूर्खाहरुको चिहान भत्कने भन्दै चिन्तित थिए। तर केहि मानिस जो हाइवे क्षेत्रबाट नजिक थिए उनिहरु भने जग्गाको भाउ बढ्ने भन्दै मख्ख थिए।

जब कोरिया टाइम्सका पत्रकार त्यसबेला मे र जुन महिनामा रोड बनिरहेको ठाउँमा पुगे त्यहाँ मात्र ३०० जना कामदारले काम गरिरहेका थिए। तर हुण्डाइ कर्नसट्रक्सन भने जुलाइमै पिच गर्ने योजनामा थियो। यति छिटै पिच गर्ने योजना बनाउनुको कारण त्यहाँ हेभि मेशिनहरु काममा प्रयोग गरिएका थिए। १५५ वटा माटो बोक्ने ठूला ट्रक, ५९ वटा डोजर, २२ वटा माटो सम्याउने ग्रेडर्स तथा १९ वटा रोलरहरु काममा खटीएका थिए।

सन १९६८ को सेप्टेम्बर १२ मा थेगु बाट बुसानसम्मको ट्राक खोल्ने काम सकिएको थियो। त्यस अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै तत्कालिन राष्ट्रपति पार्कले यो हाइवे कुनैदिन फानमुनजम सम्म पुर्याइने बताएका थिए। त्यस बेलाको कोरिया टाइम्स पत्रिकाले लेखेको थियो यो हाइवे कोरियाको मुख्य रक्त सन्चार गराउने शरिरको नली जत्तिकै महत्वपूर्ण बन्नेछ तथा यसले कोरियका सबै नागरिकहरुलाइ बाँध्ने काम गर्नेछ।

सन १९६८ को डिसेम्बर २१ मा कोरियाको दुइ एक्सप्रेस वे हरुको बिधिवत रुपमा उद्घाटन गरिएको थियो। सउलबाट इन्छन तथा सउलबाट सुवन। यि दुबै खण्डहरु सउल बुसान हाइवेका खण्डहरु थिए। राष्ट्रपति पार्कले त्यस दिन यो हाइवे कोरियाको औधोगिकरणको एक महत्वपूर्ण कदम भएको बताएका थिए। सउलदेखि इन्छनसम्मको २३.४ किलोमिटर हाइवे बनाउन ३.३ विलियन कोरियन वन खर्च भएको थियो। यो खण्ड तयार हुन करिब २० महिना लागेको थियो। सउलदेखि सुवनसम्मको खण्ड पूरा गर्न २.९ विलियन वन खर्च तथा १० महिना समय लागेको थियो।

त्यस बेला बाटो प्रयोग गरेबापत साना गाडीहरुसँग १०० वन तथा ठूला गाडी तथा ट्रकहरुसँग ५०० वन कर लिइएको थियो। त्यस बेलाका ड्राइभरहरु सउलबाट सुवन मात्र २० मिनेटमा पुग्दा गुडेको हैन उडेको भन्नेजस्ता अनुभव सुनाउदथे। उनिहरु करिब १२० किलोमिटर प्रतिघण्टाको दरमा गाडि दौडाउँदथे।

प्रतिकृया दिनुहोस्