सउल, दक्षिण कोरिया। कोरियामा ५ जि नेटवर्क प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ। जनवरी महिनाको अन्त्यसम्म ५ जि प्रयोगकर्ताहरुको संख्या १ करोड ३० लाख नाघेको छ। कोरियाको सन्चार मन्त्रालयका अनुसार यो संख्या अघिल्लो महिनाभन्दा १० लाखले बढेको हो।
अहिले कोरियामा सामसङ कम्पनीको नयाँ ग्यालेक्सी एस २१ फोन चर्चामा रहेको छ। यो फोन सामसङले गत महिना बजारमा ल्याएको हो। सामसङको यो फोन लन्च भएको पहिलो ११ दिनमा यसकै अघिल्लो मोडलभन्दा करिब ३० प्रतिशत बढि बिक्री भएको छ। कोरियाका टेलिकम कम्पनीहरु अब मोबाइल प्रयोगकर्ताहरु ५ जि नेटवर्कमा परिबर्तन हुनेछन भनि त्यसतर्फ ध्यान केन्द्रित गरिरहेका छन्।
कोरियाको प्रमुख टेलिकम कम्पनी एस के टेलिकमले यो बर्षको अन्त्यसम्ममा आफ्नो ५ जी प्रयोगकर्ता ९० लाख पुर्याउने लक्ष्य राखेको छ भने अर्को टेलिकम एलजी युप्लसले भने ४० लाख ५ जि प्रयोगकर्ता पुर्याउने लक्ष्य राखेको छ। कोरियामा गत महिनासम्म मोबाइल प्रयोगकर्ताको कुल संख्या करिब ७ करोड ७० लाख पुगेको छ जसमा ४ जी प्रयोगकर्ताको संख्या मात्र ५ करोड २० लाख छ। यो भन्दा अघिल्लो महिना ४ जि प्रयोगकर्ताको संख्या ५ करोड २७ लाख रहेको थियो। एक महिनामै ४ जि बाट ५ जि नेटवर्कमा करिब ७ लाख रुपान्तरण भएका छन्।
दक्षिण कोरिया विश्वमै कमर्शियल ५ जि मोबाइल नेटवर्कको सुरुवात गर्ने पहिलो राष्ट्र हो। कोरियाले सन २०१९ को अप्रिल महिनाबाट कोरियामा ५ जि नेटवर्क सुरुवात गरेको थियो।
प्रतिकृया दिनुहोस्