Friday, June 25

आइपिओ अलर्ट : सिङ्गटी हाइड्रोले चैत ६ बाट आइपिओ निकाल्दै

March 6, 2021 329

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि यहि चैत ६ गतेबाट १० गतेसम्म आइपिओ निष्काशन गर्ने भएको छ। चैत १० गतेसम्मा निष्काशन गरिएको सबै सेयर नबिकेको खण्डमा आइपिओ भर्ने समय चैत २० सम्म थपिनेछ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी २६ लाख ९७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्युनतम १० कित्ता तथा अधिकतम २ लाख कित्ताका लागि आवेदन गर्न सक्नेछन्। यस कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणलाई सेयर निष्काशन गरि बाँडफाड गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ। अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब १ करोड ५० लाख रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँदछ। यस कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त आश्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

सिङ्गटी हाइड्रो सन २०१० मे १९ मा सिङ्गटी हाइड्रो इनर्जी प्राइभेट लिमिटेडका रुपमा खोलिएको थियो। पछि सन २०१८ जुन २० मा यसलाई सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका रुपमा पब्लिक कम्पनीमा परिवर्तन गरिएको हो। यस कम्पनीले दोलखा जिल्लामा २५ मेगावाट क्षमताको सिङ्गटी खोला जलबिध्युत आयोजना निर्माण गरेको छ। यो आयोजना रन अफ रिभर प्रकृतिको आयोजना हो। आर सि हाइड्रो इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड (८.४४ प्रतिशत), बटु लामिछाने (८.२४ प्रतिशत), गणेश कार्की (६.२७ प्रतिशत) यस कम्पनीका मुख्य लगानीकर्ता हुन्।

प्रतिकृया दिनुहोस्