Tuesday, September 28

कोरियामा बिदेशीहरुलाई सामान डेलिभरी गर्ने कम्पनीमा काम गर्न अनुमति

March 17, 2021 942

दक्षिण कोरियाको सरकारले कामदारहरुको अभाव हुन थालेपछी अब त्यहाँका थेक्वे अर्थात सामान डेलिभरी गर्ने कम्पनीहरुमा विदेशीहरुलाई काम गर्ने अनुमति दिएको छ। तर यस्ता कम्पनीमा विदेशीहरुलाई सामानहरु छुट्याउने तथा ट्रकहरुमा लोडगर्ने काम मात्र गर्न भनेको छ।

कोरियाको न्याय मन्त्रालयले इमिग्रेशन कन्ट्रोल एक्टलाई परिमार्जन गर्दै मंगलबार एच टु (H-2) भिजा भएका बिदेशीहरुलाई थेक्वे कम्पनीहरुमा पनि काम गर्ने अनुमति दिएको हो। एच टु भिजा कोरियामा वर्किङ भिजिट भिजा हो। अहिलेको इमिग्रेशन नियमअनुसार एच टु भिजा भएकाहरुले ३९ वटा क्याटेगोरीका क्षेत्रमा काम गर्न पाउँदछन्। यो भिजा भएकाले अहिले ३०० भन्दा कम कामदार भएका उत्पादनमुलक क्षेत्र, पुशपालन तथा माछापालन क्षेत्र आदिमा काम गर्न पाउँदछन। अबको नयाँ परिवर्तनले अर्को एउटा क्षेत्र थप भएको हो।

तर सामान डेलिभरी गर्ने कम्पनीमा विदेशीहरुले सेन्टरहरुमा सामान लोड गर्ने तथा अनलोड गर्ने काम मात्र गर्न पाउनेछन्। डेलिभरी कम्पनीहरुले श्रमिक कमि भएकाले काम गर्न गाह्रो परेको तथा विदेशी कामदार राख्ने प्रावधान बनाइदिन सरकारलाई निरन्तर आग्रह गरेपछि यस्तो परिवर्तन भएको हो।

कोरियाका स्थानिय श्रमिक संगठनहरुले विदेशीहरुलाई लोजिस्टिक कम्पनीमा काम गर्न दिने कुराप्रति असहमति जनाएका थिए। उनिहरुले यस्ता कम्पनीमा काम गर्ने वातावरण सुधार गर्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए। तर विदेशी श्रमिक संगठनले विदेशी कामदारलाई यस्ता कम्पनीमा काम गर्न दिइएमा कामको लोड कम हुने तथा सामान डेलिभरी सहज हुने राय ब्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्